१३ बैशाख २०८१, बिहीबार
Follow Us

मन्त्री र मुख्यमन्त्रीले नै भर्ना गरेका बालबालिका विद्यालय जाँदैनन्

sarusaru
१ श्रावण २०७५, मंगलवार ०३:४२

नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सव उद्घाटन गर्न मुगु पुगेका प्रधानमन्त्रीसँग मन्त्री, मुख्यमन्त्री र नेताहरूको लावालस्कर थियो । प्रधानमन्त्रीले स्थानीय ठिन्ले स्याङ्हु तामाङलाई र श्रीमती राधिका शाक्यले स्थानीय छिरिङ छेम्जोङ लामालाई स्थानीय बुद्ध माविमा कक्षा १ मा भर्ना गराएका थिए । दुवै विद्यार्थीले अहिले पढिरहेका छन् ।

तर, प्रधानमन्त्रीको टोली काठमाडौं फर्किएपछि अभिभावक र विद्यालयसँग कुनै सम्पर्क छैन । ‘दुवै बालकले नियमित कक्षा लिइरहेका छन्, तर उनीहरूको विषयमा कहीँकतैबाट सोधपुछ भएको छैन,’ प्रधानाध्यापक गंगाराम जिसीले भने ।

उद्घाटन कार्यक्रममै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले स्थानीय बालक कर्मा यान्जिन लामालाई कक्षा १ मा भर्ना गराएका थिए । तर, ती विद्यार्थी भर्नाको दिनदेखि अहिलेसम्म सम्पर्कमा छैनन् ।

‘मन्त्रीज्यूहरूको टोली काठमाडौं लाग्यो, बच्चाको टोली घरतिर लाग्यो । त्यसपछि दुवैतिरबाट विद्यालयमा सम्पर्क भएको छैन,’ प्रधानाध्यापक जिसीले भने । सरकारले दुई लाख ५३ हजार बालबालिका भर्ना गरेको दाबी गरेको छ, तर उनीहरू विद्यालय आए कि आएनन् भन्ने अनुगमन छैन । स्वयम् शिक्षामन्त्रीले भर्ना गरेका विद्यार्थी विद्यालय नजाँदासमेत अनुगमन नभएकाले भर्ना अभियान ‘सस्तो लोकप्रियता’मा सीमित भएको हो कि भन्ने प्रश्न उठेको छ ।

अपांगता भएका बालकका अभिभावक बने पर्यटनमन्त्री, तर फर्केर सोधेनन्, बालक घरमै
रारा महोत्सवमा भाग लिन गएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले रारा–६ कोटिल्लाका पाँच वर्षीय बालक पुन्नबहादुर कुलालको अभिभावकत्व ग्रहण गरेका थिए । राम्रोसँग हिँड्डुल गर्न नसक्ने र कान नसुन्ने भएकोले पुन्नबहादुरलाई अभिभावकले विद्यालय पठाउन सकेका थिएनन् । तर, प्रधानमन्त्री र मन्त्रीको टोली आएकाले अपांगता भएका विद्यार्थीलाई पनि पढ्ने वातावरण हुन्छ भनेर आशावादी अभिभावक महोत्सवमा आएका थिए ।

अभिभावकको आशालाई सम्बोधन गर्दै पर्यटनमन्त्री अधिकारीले पुन्नबहादुरलाई स्थानीय दुधे निमाविमा भर्ना गराए । तर, विद्यार्थी अर्को दिन विद्यालय पुग्दा त्यस्ता विद्यार्थीलाई पढाउने कुनै पूर्वाधार नभएको भन्दै फर्काइयो । लगत्तै, उनलाई सदरमुकाम गमगढीको महाकाली माविमा भर्ना गरियो । तर, त्यहाँ पनि उनलाई पढ्ने वातावरण छैन ।

‘मन्त्रीको नामसमेत जोडिएकाले विद्यार्थीलाई भर्ना गरिएको छ, तर उनलाई पढाउने पूर्वाधार हामीसँग छैन, त्यसैले उनी विद्यालय आएका छैनन्,’ प्रधानाध्यापक दानबहादुर मल्लले नयाँ पत्रिकासँग भने । तर, आफूले भर्ना गरेको विद्यार्थी विद्यालय जान सकेको छैन र उसको पढाइ कस्तो छ भनेर मन्त्रीले समेत चासो नराखेको गुनासो अभिभावकले गरेका छन् । ‘मन्त्रीज्यूले मेरो छोरालाई भर्ना गरेर जानुभयो, त्यसपछि कहीँकतैबाट केही सोधखोज भएको छैन,’ पुन्नबहादुरका बुबा खड्ग कुलालले भने ।

मुख्यमन्त्रीले बिर्सिए आफैँले भर्ना गरेको विद्यार्थी

प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले पर्साका २ तथा सिरहा र धनुषाका एक,एक गरी चार बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेका थिए । तर, अहिले उनी तीन बालबालिकाको मात्रै अभिभावकत्व लिएको दाबी गर्छन् । धनुषाको मिथिलाबिहारी नगरपालिका–५ परती टोलकी पाँच वर्षीया राधिका दासलाई मुख्यमन्त्री राउतले बिर्सिएका छन् ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुगुका ५ वर्षीय सरोज नेपालीको अभिभावकत्व ग्रहण गर्दै भारेकोटस्थित नेपाल राष्ट्रिय निमावि कक्षा १ मा भर्ना गरेका थिए । त्यसपछि चासो नै छोडे । सरोजले मुख्यमन्त्रीबाट कापी–कलमदेखि ड्रेससम्मका कुनै सहयोग नपाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर मल्लले बताए ।

सांसद् तथा पूर्वमन्त्री शरत्सिंह भण्डारीले महोत्तरीको औरही नगरपालिका–१ मुसहर बस्तीका सात वर्षीय अमितकुमार माझीको अभिभावकत्व लिएको घोषणा गरे । तर, उनले अहिलेसम्म अमितलाई एउटा कापी र पेन्सिलसमेत सहयोग गरेका छैनन् । ‘नेताज्यू मेरो बच्चाको अभिभावक बनेको थाहा पाएँ, तर कापी–कलमलगायतका सामग्री र अरु सहयोग केही पनि पाइएन, आफैँ मजदुरी गरेर पढाइरहेकी छु,’ अमितकी आमा इन्दू सदाले भनिन् ।

रक्षामन्त्री ईश्वर पोखरेलले मुगुकै नेपाल राष्ट्रिय मावि मुर्मामा दुई विद्यार्थीलाई भर्ना गरे । सूर्यदेवी रोकाया र पुस्कर रोकायालाई रारा पर्यटकीय वर्षकै तामझामबीच भर्ना गराए पनि त्यसपछि पोखरेलले कुनै वास्ता गरेका छैनन् । राराको कार्यक्रममार्फत मुगुमा प्रधानमन्त्री, मन्त्री, पूर्वमन्त्री, प्रदेशमन्त्रीलगायत विभिन्न व्यक्तिले १५ जना विद्यार्थीलाई भर्ना गरे पनि त्यहाँबाट फर्किएपछि मतलब गरेका छैनन् ।

मुख्यमन्त्री शंकर पोखरेलले घोराही उपमहानगरपालिका–१७ गोरक्षरत्ननाथ माविमा ५ विद्यार्थीको अभिभावकत्व ग्रहण गरे । उनले भर्ना गरिदिएका शिवु चौधरी र आशिका चौधरी अंग्रेजी माध्यमतर्फ कक्षा १ मा पढ्दै छन् । कल्पना योगी, कमल बुढा र राजन शर्मा कक्षा ४ मा अध्यनरत छन् । सबै विद्यार्थीको हेरचाहको जिम्मा स्थानीय हुमा डिसीलाई दिइएको छ ।

मासिक शुल्क पनि तिर्ने जिम्मेवारी लिएका पोखरेलले परीक्षा शुल्क भने व्यहोरेका छैनन् । परीक्षा शुल्क र परिचयपत्रका लागि घरबाटै पैसा ल्याएर तिर्ने गरेको विद्यार्थीहरूले बताए । वर्षमा तीनपटक परीक्षा हुन्छ । कक्षा ४ मा अध्ययनरत कल्पना योगीका अनुसार विद्यालय भर्ना गर्दा पोसाक, दुईजोर सेतो र कालो जुत्ता, एकजोडी ट्रयाकसुट, झोला, टाई, बेल्ट, एकदर्जन कापी र कलम दिइएको थियो ।

प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले बुटवल उपमहानगरपालिका–११ स्थित नहरपुर माविमा लक्ष्मी परियार र आशा परियारलाई भर्ना गराएका थिए । क्षमी २ र आशा ३ कक्षामा पढ्छन् । त्यतिखेर आवश्यक शैक्षिक सामग्री पनि किनिदिएका थिए । अहिले पनि मन्त्री गिरीले आफ्ना विद्यार्थीको चासो राख्ने गरेको प्रधानाध्यापक धनिश्वर गौतम बताउँछन् । गिरीसँगै सोही विद्यालयमा विद्या थापाको अभिभावकत्व लिएका बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले पनि निरन्तर पढाइ र आवश्यकताबारे चासो राख्दै आएका छन् । उनीहरूले भर्नापछि दुईपटक फोन गरेर चासो लिएको सुवेदीले बताए । अब मन्त्री र मेयरसँग विद्यार्थीका अभिभावकको भेट गराउने उनले सुनाए ।

जसले नियमित चासो दिइरहेका छन्

माधवकुमार नेपाल, वरिष्ठ नेता, नेकपा
नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले महोत्तरीको बर्दिबासस्थित राष्ट्रिय आधारभूत विद्यालयमा दुई विद्यार्थीको अभिभावकत्व लिएका थिए । कक्षा १ मा पढ्ने सबनम खातुन र कृष्ण महरालाई तत्कालै ६ हजारका दरले दिएका थिए । नेपालले उनीहरू स्कुल गए/नगएको चासो राख्ने गरेका छन् । केही समयअघि स्थानीय पत्रकार गोपाल बरालमार्फत् बुझेका थिए । ‘नेता नेपालकै आग्रहमा बच्चाहरूको अवस्था बुझ्दा सबनम नियमित स्कुल गए पनि कृष्ण भने केही दिन नगएको खबर पाएँ,’ पत्रकार बरालले भने, ‘पछि अभिभावकलाई सम्झाएपछि नियमित स्कुल गरिरहेका छन् ।’

गणेश तिमिल्सिना, अध्यक्ष, राष्ट्रिय सभा
राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले कास्कीको धर्मस्थली आधारभूत विद्यालयका २ कक्षामा पढ्ने आकाश परियारको अभिभावकत्व लिएका थिए । उनले आकाशका लागि आवश्यक सबै शैक्षिक सामग्री किन्न रकम दिएको प्रधानाध्यापक केदारनाथ बरालले जानकारी दिए । आकाशलाई शिक्षामा कुनै कमी हुन नदिन तिमिल्सिनाले चासो दिने गरेका छन् । ‘आवश्यक सबै सामग्री किन्न रकम उपलब्ध गराउनुभएको छ,’ बरालले भने, ‘थप चाहिए या कुनै सहयोग अवश्यक परे सम्पर्क गर्न भन्दै मोबाइल नम्बर दिनुभएको छ । आवश्यक परे सम्पर्क गर्छौं ।’

विष्णु पौडेल, महासचिव, नेकपा

नेकपाका महासचिव विष्णु पौडेलले रुपन्देहीको तिलोत्तमास्थित जनजागृति माध्यमिक विद्यालयमा सृष्टि विश्वकर्मालाई कक्षा १ मा भर्ना गरेर अभिभावकत्व ग्रहण गरे । रुपन्देही क्षेत्र न. २ का सांसद पौडेलले सृष्टिको अभिभावकत्व ग्रहण गरेपछि आवश्यक शैक्षिक सामग्री, विद्यालय पोसाक, झोला, जुत्तालगायत सामग्री किनिदिएका थिए । पौडेलले त्यसपछि पनि सृष्टिको निरन्तर चासो राख्दै सहयोग गरिरहेका छन् । दुईपटक विद्यालय पुगेर भेटिसकेका छन् ।

‘उहाँ दुईपटक आउनुभयो । नास्ताका लागि भन्दै ५ हजार रुपैयाँ पनि दिनुभयो,’ प्रधानाध्यापक टंकप्रसाद पौडेलले भने, ‘केही समस्या परे मलाई सीधै सम्पर्क गर्नुहोला भन्नुभएको छ ।’ पौडेल विद्यालय पुग्दा सृष्टिका अभिभावकलाई पनि भेट्छन् ।

पृथ्वी सुब्बा गुरुङ, मुख्यमन्त्री, गण्डकी प्रदेश
२ वैशाखमा दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अहिले पनि आफ्ना विद्यार्थीको चासो लिन्छन् । पोखरा–लेखनाथ महानगरपालिका–७ को श्रीकृष्ण माविमा ५ वर्षका शीला जिरेल र अभिषेक नेपालीलाई नर्सरी कक्षामा भर्ना गराएका थिए । ‘उहाँले बारम्बार यी दुई बालबालिकाबारे सोधखोज गर्नुहुन्छ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजनाथ अधिकारीले भने । मुख्यमन्त्री गुरुङले कापी, पोसाक, खाजा, विद्यालय आउँदा–जाँदा लाग्ने बसभाडा सबै व्यहोरेको प्रधानाध्यापक केदारनाथ अधिकारीले बताए ।

गुरुङले पनि आफू उनीहरूको भविष्यप्रति सधैँ चिन्तित रहेको बताए । नयाँ पत्रिकासँग उनले भने, ‘चासो नराख्ने, वास्ता नगर्ने अनि अभिभावक हुँ भन्न त मिलेन नि । भेट्न पनि जाने हो, उनीहरू र उनीहरूजस्तै कलिला बालबालिकाको भविष्य उज्जल बनाउनुछ ।’

बालक जिरेलका अभिभावक दोलखामा भूकम्पले घर भत्किएपछि अहिले पोखरामा मजदुरी गर्छन् । नेपालीका बुवा भने दीर्घरोगी छन्, आमाले मजदुरी गरेर परिवारको गर्जो टार्दै आएकी छिन् ।

डोरमणि पौडेल, मुख्यमन्त्री, प्रदेश ३

मुख्यमन्त्री डोरमणि पौडेल मकवानपुरको मनहरी–६ स्थित राष्ट्रिय माविका दुई विद्यार्थीको अभिभावक बने । ५ चैतमा सञ्जित ब्लोन र जेसिका प्रजालाई कक्षा १ मा उनले भर्ना गराए । उनी विद्यार्थीलाई आफैँ भेट्न नगए पनि दोस्रो व्यक्ति पठाएर चासो राखिरहेका छन् । केही समयअघि पौडलेका स्वकीय सचिव अनुप पौडेल आएर विद्यार्थीको शैक्षिक अवस्था बुझेको प्रधानाध्यापक सूर्यबहादुर मोक्तानले बताए । उनले वेलावेलामा फोनबाटै जानकारी लिने गरेका छन् ।

मुख्यमन्त्रीले भर्नाकै क्रममा विद्यालय पोसाक, जुत्ता, ब्याग र आवश्यक शैक्षिक सामग्री व्यवस्था गरिदिएका थिए । उनले विद्यार्थीलाई कुनै स्वास्थ्य समस्या निम्तिए खबर गर्न पनि भनेका छन् । तर, सामान्य ज्वरोबाहेक अहिलेसम्म कुनै स्वास्थ्य समस्या नदेखिएकाले आफूहरूले खबर नगरेको प्रधानाध्यापक मोक्तान बताउँछन् ।

त्रिलोचन भट्ट, मुख्यमन्त्री, प्रदेश ७
प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले ५ वैशाखमा आफ्नै छोरीको अभिभावकत्व ग्रहण गरे । धनगढी उत्तरबेहडीस्थित सामुदायिक विद्यालय राष्ट्रिय माविमा छोरीलाई भर्ना गर्दै उनले १० विद्यार्थीलाई शैक्षिक सामग्री बाँडे ।

तर, त्यसपछि उनी विद्यालयमा उपस्थित नभए पनि उनले निरन्तर विद्यालयको पठनपाठन र भौतिक अवस्थाबारे चासो देखाएका छन् । ‘विद्यार्थीहरू नियमित आउँछन्÷आउँदैनन्, पठनपाठनको अवस्था के छ भनेर मुख्यमन्त्रीले चासो राख्नुहुन्छ । कार्यव्यस्तताले होला उहाँ विद्यालय नआए पनि निरन्तर सम्पर्क भइरहन्छ,’ प्रधानाध्यापक गणेशराज भट्टले भने, ‘विद्यालयको भौतिक सुधारमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।’

संस्थागत सहभागितासमेत जनाउन चाहेन कांग्रेसले

कांग्रेस नेता गगन थापा र प्रदीप पौडेलले भने एक–एक विद्यार्थीको अभिभावकत्व लिँदै १२ कक्षासम्मको खर्च व्यहोर्ने घोषणा गरेका छन् । थापाले बूढानीलकण्ठ चुनीखेलकी रसिका श्रेष्ठलाई जनउद्धार विद्यालयमा कक्षा १ मा भर्ना गरेका छन् । त्यस्तै, पौडेलले तनहुँको शुक्लागण्डकी नगरपालिका–११ का आमाबुबा गुमाएका कृतन नेपालीलाई कक्षा ३ मा भर्ना गरेका छन् । तर, कांग्रेसले संस्थागत सहभागिता भने जनाउन चाहेन ।

६० हजार बालबालिका अझै विद्यालयबाहिर
यस वर्ष सञ्चालन गरेको भर्ना अभियानले दुई लाख ५३ हजार बालबालिका विद्यालय पुगेको दाबी सरकारको छ । अझै ६० हजार बालबालिका विद्यालयबाहिर छन् । भर्ना भएका बालबालिका नियमित विद्यालय गए/नगएको अनुगमन हुन सकेको छैन । यस आर्थिक वर्षको शैक्षिक सत्र सुरु हुँदासम्म नेपालमा आधारभूत तह (कक्षा १–८)सम्म विद्यालय उमेरका तीन लाख १३ हजार विद्यार्थी विद्यालयबाहिर थिए । १ वैशाखमा प्रधानमन्त्री केपी ओलीले मुगुका एक बालकलाई विद्यालय भर्ना गरेर अभियान सुरु गरेका थिए । प्रधानमन्त्रीसँगै मन्त्री, सांसद र नेताहरूले अभिभावकत्व लिएर भर्ना अभियान अगाडि बढाएका थिए ।

संविधानले आधारभूत तहलाई निःशुल्क र अनिवार्य शिक्षा घोषणा गरेको छ । तर, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलका अनुसार अभैm ६० हजार बालबालिका आधारभूत तहको शिक्षा लिनबाट वञ्चित छन् । त्यसैले सरकारले अहिले दोस्रो चरणको भर्ना अभियान सञ्चालन गरेको छ । सरकारले प्रदेश र स्थानीय तहलाई पनि जिम्मेवार बनाएर द्रोसो चरणको भर्ना अभियान सञ्चालन गरेको हो । तर, कस्ता बालबालिका विद्यालय आएका छैनन् र आएका पनि किन टिक्दैनन् भन्ने अध्ययन भएको छैन । आधारभूत तहलाई अनिवार्य गरे पनि पारिवारिक अवस्थालगायतलाई वास्ता नगरेको शिक्षाविद्को आरोप छ । विद्यालयसम्म ल्याउने, तर बालबालिकाको अवस्था बुझेर कार्यक्रम नल्याउँदा बर्सेनि झन्डै चार लाख बालबालिकाले बीचैमा कक्षा छाड्ने गरेका छन् ।

नेकपाका दुवै अध्यक्षले अभिभावकत्व लिए, तर सोधपुछ गरेका छैनन्

गत १ वैशाखमा ओलीले मुगुको मुगम कार्मारोङ गाउँपालिका–८ का पाँच वर्षीय ठिन्ले स्याङ्हु तामाङको अभिभावकत्व लिँदै स्थानीय बुद्ध माविमा भर्ना गराएका थिए । त्यतिखेर ड्रेस, कापी–किताब र डटपेन जिल्ला विकास तथा समन्वय इकाईले उपलब्ध गराएको थियो । प्रधानमन्त्री फर्किएपछि अहिलेसम्म ती बालकको पठनपाठन तथा खर्च व्यवस्थापनबारे कुनै अनुगमन हुन सकेको छैन । प्रधानमन्त्री ओलीले ५ वैशाखमा सिरहा कल्याणपुरका दलित बालबालिका रूपाकुमारी मण्डल र पवन मल्लिकको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराए । तर, त्यसपछि उनीहरूको अवस्थाबारे सोधखोज गरिएको छैन ।

त्यस्तै, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ वैशाखमा चितवनका दुई मुसहर बालक पत्रुस र अरुणलाई मेघौलीको साझापुर विद्यालयमा भर्ना गराए । प्रचण्डले उनीहरूलाई भर्ना गर्न तीन/तीन जोर पोसाक उपलब्ध गराउनुका साथै दिउँसोको खाजाका लागि मासिक एक/एक हजार रुपैयाँको प्रबन्ध गराएका छन् । तर, अभिभावक प्रचण्डको फोनको प्रतीक्षामा छन् ।
नयाँ पत्रिका