८ बैशाख २०८१, शनिबार
Follow Us

नेपाल हाउस सम्बन्धी समझदारीपत्रमा सगुन र एनआरएन युके बीच हस्ताक्षर

नेपालब्रिटेन डट कम्
१ श्रावण २०७५, मंगलवार १५:२२

लण्डन । अमेरिकामा बस्ने नेपालीहरुले स्थापना गरेको सोसल कमर्स साइट सगुन डटकमले गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले बेलायतमा निर्माण गर्ने लक्ष्य लिएको नेपाल हाउस प्रोजेक्टका लागि १ लाख डलरको शेयर स्वामित्व प्रदान गरेको छ ।

कल्याणकारी कार्यहरु गर्ने उद्धेश्यले सगुनले हालै स्थापना गरेको सगुन फाउण्डेसनबाट एनआरएन यूकेको महत्वाकांक्षी नेपाल हाउस प्रोजेक्टलाई सहयोगस्वरुप उक्त शेयर प्रदान गरिएको हो । सोमबार सांझ अल्डरसटको एम्पायर हलमा आयोजित एक समारोहमा सगुन र एनआरएन यूकेबीच शेयर सहयोगसम्बन्धी समझदारीपत्र हस्तान्तरण गरियो ।

लण्डनस्थित नेपाली दूतावासका उपप्रमुख शरदराज आरन, एनआरएन यूकेका अगुवाहरुको साथै बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधीहरुको उपस्थितिमा सगुन र एनआरएन यूकेबीच समझदारीपत्र हस्तान्तरण सम्पन्न भएको हो । समझदारीपत्रमा सगुनका तर्फबाट संस्थापक गोविन्द गिरी र एनआरएन यूकेका तर्फबाट अध्यक्ष योगकुमार फगामीले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथी लण्डनस्थित नेपाली दूतावासका उपप्रमुख शरदराज आरनलाई साक्षी राखेर सगुनका तर्फबाट एनआरएन यूकेका पूर्व अध्यक्ष समेत रहेका सगुनका सल्लाहकार सुर्य गुरुङ र एनआरएन यूकेका तर्फबाट अध्यक्ष योगकुमार फगामीले समझदारीपत्र आदानप्रदान गरेका थिए ।

सगुनले कल्याणकारी कार्यहरु गर्ने भन्दै हालै स्थापना गरेको सगुन फाउण्डेसनलाई सगुनको १० लाख डलर बराबरको शेयर छुट्याइएको छ । सोहि फाउण्डेसनबाट पहिलोपटक बेलायतबासी नेपालीहरुको साझा घरका रुपमा स्थापना गर्ने लक्ष्य राखिएको नेपाल हाउस प्रोजेक्टलाई सहयोग गरिएको हो ।

सगुन कम्पनीको अहिलेको भ्यालुअनुसार नेपाल हाउसलाई प्रदान गरिएको १ लाख डलर बराबरको शेयरमा ४ हजार ३ सय ७४ वटा शेयर पर्छन् । सगुनको लक्ष्यअनुसार सन् २०२२ सम्ममा कम्पनीको भ्यालु ५ विलियन पुगेको अवस्थामा नेपाल हाउसलाई दिइएको कुल शेयरको भ्यालु ५ मिलियन डलर पुग्नेछ ।

समझदारीपत्र हस्तान्तरण कार्यक्रममा सगुनका सल्लाहकार सुर्य गुरुङले सगुन फाउण्डेसनले आफ्नो सबैभन्दा पहिलो सहयोग बेलायतको नेपाली समुदायलाई गर्न पाउंदा खुशी व्यक्त गरे । विश्वमा नेपाल र नेपालीको गौरव बढाउने लक्ष्यसहित नेपालीहरुबाटै सुरु भएको सगुनको अभियानलाई बेलायतको नेपाली कम्युनिटीबाट दिइएको साथ तथा हौसलाको कदरका रुपमा यो सहयोगलाई बुझ्न गुरुङले आग्रह गरे ।

सगुनले नेपाल हाउस प्रोजेक्टको लागि निशर्त रुपमा यो सहयोग दिएको स्पष्ट पार्दै सल्लाहकार गुरुङले बेलायतका नेपालीहरुले देखेको नेपाल हाउसको सपनालाई सार्थक बनाउन यो सहयोगले भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीले बेलायतबासी नेपालीहरुको साझा सपनाका रुपमा रहेको नेपाल हाउसलाई सगुनले गरेको सहयोगका लागि आभार प्रकट गरे । विश्वमा नेपाल र नेपालीको गौरव बढाउने लक्ष्यसहित अघि बढेको सगुनलाई सफलताको शुभकामना दिदै अध्यक्ष फगामीले आवश्यक सहयोग र सहभागिताका लागि बेलायतबासी नेपालीको तर्फबाट प्रतिबद्धता पनि गरे ।

कार्यक्रमका प्रमुख अतिथी लण्डनस्थित नेपाली दूतावासका उपप्रमुख शरदराज आरनले शरदराज आरनले एनआरएन यूके र सगुनबीच सुरु भएको सहकार्यको सफलताको लागि शुभकामना दिए । यो सहकार्यले एनआरएन यूकेको नेपाल हाउस प्रोजेक्टका साथै सगुनको अभियानलाई समेत सफल पार्न सहयोगी भुमिका खेल्ने आशा उनले व्यक्त गरे ।

सगुनका बेलायत संयोजक युवराज सेढाईंले कार्यक्रममा एक पावरपोइन्ट प्रिजेन्टेसनमार्फत सगुन डटकमको अवधारणा र स्थापनाको पृष्ठभुमिका साथै यसका प्रोडक्टहरु र भावी लक्ष्यबारे जानकारीहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा एनआरएन यूकेका प्रमुख संरक्षक मेजर रिटायर्ड डमर घले, पूर्व अध्यक्ष योगेन क्षेत्री, एनआरएन आइसिसी सदस्य रामशरण सिंखडा, जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, तमु धि यूके अध्यक्ष ज्ञाम गुरुङ, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगीमगर, एनआरएन मिडिया समिति उपसंयोजक चिरन शर्मा, एनआरएन यूके सल्लाहकार तथा बुद्धिजिवी शिवजी श्रेष्ठ, काउन्सिलर तथा एनआरएन अगुवा लक्ष्य गुरुङ, एनआरएन यूके व्यापार विभाग संयोजक गंगा राना लगायतले शुभकामना मन्तव्य राख्दै सगुनको सहयोगबाट एनआरएन यूकेको महत्वाकांक्षी नेपाल हाउस प्रोजेक्टले सार्थकता पाउन सहयोग मिल्ने आशा व्यक्त गरे ।

एनआरएन यूके महासचिव आरके त्रिपाठीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष शेर सुनारले स्वागत मन्तव्य दिएका थिए ।

सो अवसरमा एनआरएन आइसिसी सदस्य कुमारी गुरुङ, एनआरएन आइसिसीका रोड सेफ्टी टास्कफोर्स संयोजक थर्क सेन, एनआरएन यूकेका उपाध्यक्षहरु पुनम गुरुङ, प्रेम गाहा, ललितकुमार न्यौपाने र सुशिला राई, कोषध्यक्ष सचिन श्रेष्ठका साथै कृष्ण तिमल्सेना, लोक गुरुङ, फडिन्द्र भट्टराई, हरिकाजी गुरुङ, हितकाजी गुरुङ, बाचस्पति रेग्मी, सपनकुमार राई, पुरन गिरी, कृष्ण गुरुङ, सुर्य गुरुङ लगायतका एनआरएन यूके सल्लाहकार तथा समाजका अगुवाहरुको पनि उल्लेख्य उपस्थिति थियो ।

फोटो- शिव भण्डारी