१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेस नेता विष्ट बेलायतमा सम्मानित

नेपालब्रिटेन डट कम्
१ श्रावण २०७५, मंगलवार १५:२४

लण्डन । नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट बेलायतमा सम्मानित भएका छन् । बेलायत भ्रमणमा रहेका विष्टलाई सोमबार एक कार्यक्रम आयोजना गरी एनआरएन यूकेले सम्मान गरेको हो ।

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका विष्टलाई अल्डरसटस्थित एनएनआरएन यूकेको आफ्नै कार्यालय कार्यक्रम गरि सम्मान गरिएको हो । दुई दशकभन्दा लामो समयदेखि प्रवासमा बसेर पनि नेपालको प्रजातन्त्र र मानवअधिकारका साथै गैरआवासीय नेपाली अभियानमा समेत महत्वपुर्ण योगदान गरेकोमा विष्टलाई सम्मान गरिएको एनआरएन यूके महासचिव आरके त्रिपाठीले जानकारी दिए ।

सम्मानित विष्टले एनआरएन यूकेले गरेको सम्मानका लागि आभार प्रकट गरे । देश र समुदायको हितका लागि सबै गैरआवासीय नेपालीहरु एकै ठाउं उभिनुपर्ने भन्दै विष्टले आफ्नो बेलायत भ्रमण अमेरिका र बेलायतमा बस्ने नेपालीहरुबीचको सहकार्य बढाउनका लागि सहयोगी बन्ने विश्वास व्यक्त गरे । बेलायतमा नेपालीहरुको लागि वीर गोर्खाहरुसंग जोडिएको गौरवशाली इतिहास रहेको उल्लेख गर्दै विष्टले गैरआवासीय नेपाली अभियानको जन्मदाता देशका रुपमा समेत बेलायतको महत्वपुर्ण भुमिका रहेका समरण गरे ।

गैरआवासीय नेपालीहरुको बारेमा नेपाल सरकारका जिम्मेवार मन्त्रीबाटै गैरजिम्मेवार र अपमानजनक अभिव्यक्तिहरु आइरहनुलाई आपत्तिजनक भन्दै विष्टले गैरआवासीय नेपालीको अधिकार स्थापनादेखि प्रवासमा नेपाली भाषा, संस्कृति संरक्षणसम्मका अभियानमा सबै देशमा रहेका प्रवासी नेपालीबीच सहकार्य हुनुपर्ने बताए । कार्यक्रममा एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीले प्रवासमा रहेर लामो समयसम्म गैरआवासीय अभियानमा योगदान गरेका विष्टलाई बेलायतमा सम्मान गर्न पाउंदा खुशी व्यक्त गरे ।

एनआरएन यूकेका प्रमुख संरक्षक मेजर रिटायर्ड डमर घले, संरक्षक योगेन क्षेत्री, सल्लाहकारतथा बुद्धिजिवी शिवजी श्रेष्ठ लगायतले मन्तव्य दिदैै संसारका सबै मुलुकमा बस्ने गैरआवासीय नेपालीहरुबीचको आपसी सहकायलार्ई बढाउनुपर्ने धारणा राखे । सो कार्यक्रममा गैरआवासीय नेपाली संघ यूके कार्यसमितिका पदाधिकारी, सल्लाहकार तथा आइसिसी सदस्यहरु लगायतको उपस्थिति थियो ।