१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बुटवल लागु औषध र वेश्यावृत्तिको हब भयो ; डीएसपी

sarusaru
२ श्रावण २०७५, बुधबार ०५:५४

बुटवल । बुटवललाई औद्योगिक, ब्यापारिक, शैक्षिक र बैकिङ हब (केन्द्र) भनिँदै/मानिँदै आइएको छ । तर, प्रहरीको नजरमा अब बुटवल थप दुई विषयको पनि हब बनेको छ । त्यो हो– लागुऔषध (ड्रग) र ‘प्रस्टिच्युसन’ (वेश्यावृत्ति) को हब !

बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिलबहादुर मल्लले बुटवललाई ड्रग र ‘प्रस्टिच्युसन’ हबका रुपमा अन्य जिल्लाका मान्छेले लिने गरेको दुखेसो गरे । हालै सरुवा भएर इलाका प्रहरी कार्यालय बुटवलमा आएका मल्लले बुटवलका पत्रकारहरुसँगको अन्तरक्रियामा भने– ‘बाहिरी जिल्लाका राम्रै मान्छेहरुले बुटवल त अन्य कुरामा जस्तै ‘प्रस्टिच्युसन’को पनि हब भएको छ रे नि भनेर मलाई आउनेवित्तिकै प्रश्न गर्नुभो ।’

डीएसपी मल्लले अगाडि भने– ‘उहाँहरुको कुरा र यहाँका होटल व्यवसायीले केही दिन अघि गरेको निर्णयले बुटवल साँच्चिकै प्रस्टिच्युसनको हब बन्दै जान थालेको हो कि भन्ने मैले बुझें ।’

बुटवलका होटल तथा रेष्टुरेन्ट व्यवसायीले होटलमा विकृति, विसंगति बढेको भन्दै केही दिनअघि कलेज/स्कूल ड्रेसमा आउनेलाई रुम नदिने र १६ वर्षमुनिका व्यक्तिहरुलाई मदिरा नबेच्ने निर्णय गरेका थिए ।

रुपन्देहीमा साना, मझौला र ठूला गरी होटलको संख्या एक हजार ५ सय भन्दा बढी छ । विशेषगरी विनादर्र्ताका स–साना होटल/रेष्टुराँ प्रहरीसँग सेटिङ मिलाउन सक्ने मझौला होटल र घरभाडामा लिएर समेत वेश्यावृत्ति हुने गरेको प्रहरी सूत्रको भनाइ छ ।

बुटवललाई प्रस्टिच्युसनको हबको नकारात्मक विशेषणबाट जोगाउन विशेषगरी होटल व्यवसायीहरु इमान्दार भई व्यवसायलाई मर्यादित बनाउनुपर्ने डीएसपी मल्ल बताउँछन् । साथै जिल्लावासी नागरिकसमेत अनुशासित र सचेत हुनुपर्ने डीएसपी मल्लको सुझाव छ ।

‘यस्तो नराम्रो विशेषताबाट बुटवललाई अलग बनाउनुपर्छ, यसमा प्रहरीले पनि होटल व्यवसायलाई शुद्धीकरण गर्न विशेष अभियान थाल्छ’– डीएसपी मल्लले भने ।

लागुऔषध कारोबारको अर्को जोखिम

बुटवल लागुऔषध कारोबार र प्रयोगका दृष्टिले सबैभन्दा बढी जोखिममा रहेको तथ्यले नै पुष्टि गरेको डीएसपी मल्ल बताउँछन् । ‘हामीकहाँ वर्षभरि दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै लागुऔषधकै छन्’–डीएसपी मल्लले भने ।

भारतसँगको खुला सीमाना, भन्सारमा प्रभावकारी चेकजाँचको अभाव, नाकामा घुस खाएर लागु औषध ओसार–पसार गर्न दिने परिपाटी र धेरै नाफा राखेर बेच्न पाइने बुटवलमा भएकाले लागु औषधको कारोबार बढ्दै गएको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार आर्थिक वर्ष ०७४/७५ मा दर्ता भएका चालु मुद्दामध्ये लागुऔषधका २७ वटा मुद्दा छन् । जसमा ४९ जना पुरुष र ३ जना महिलामाथि मुद्दा चलिरहेको छ ।

गएको आर्थिक वर्षमा लागु औषधसम्बन्धी ८४ वटा मुद्दा इलाका प्रहरी कार्यालयमा दर्ता भएका थिए । प्रहरीले एक वर्षकै अवधिमा ठूलो परिमाणमा लागु औषध बरामद समेत गरेबाट बुटवल लागु औषध कारोबार र सेवनको ट्रान्जिट प्वोइन्ट बन्दै गएको देखिएको डीएसपी मल्ल बताउँछन् ।

गत वर्ष प्रहरीले भारतबाट खरिद गरी ल्याइएको गाँजा ६ केजी ७४० ग्राम, ब्राउनसुगर १०६.५४ ग्राम, सेरिजेक १४ सय ४३ सीसी, नुर्फिन २ हजार ७ सीसी, डाइजोपाम ७३५ सीसी, फेनरागन २१४८ सीसी, टालिजेसिक ११५ सीसी, कोरेक्स १ बोतल, नाइट्रोसन ८१४ चक्की, नाइट्रेजाम १०५ चक्की, स्पास्मो ९७८ चक्की र नाइट्रोम्याट ३९७ चक्की विभिन्न मितिमा बरामद गरेको थियो ।

‘यो परिमाणको लागु औषध बरामद भएबाट यहाँ योभन्दा अझ ठूलो मात्रामा ड्रग भित्रिन्छ भन्ने प्रष्ट हुन्छ,’ डीएसपी मल्ल भन्छन्–‘सबै परिमाण प्रहरीले फेला पार्न नसकेको हुन सक्छ ।’

परिवारको एकजना मात्रै सदस्य लागु औषधको कुलतमा फस्दा उसको जीवन बर्बाद त हुन्छ नै, सिंगो परिवारलाई आर्थिक र सामाजिक समस्या उत्पन्न हुने भएकाले यसको कारोबार र प्रयोगलाई रोक्न सबैको साझा पहल र सचेतना हुनुपर्ने प्रहरी अधिकारीको आग्रह छ ।

तर, पर्याप्त जनशक्तिको अभावमा समाजमा हुने गलत क्रियाकलाप र अपराध न्युनीकरण गर्न प्रहरीलाई समस्या हुने गरेको डीएसपी मल्लको गुनासो छ । उनी भन्छन्– ‘एक जना प्रहरीले १.९४३ वर्ग किलोमिटर क्षेत्र र १४७८ जना नागरिक हेर्नुपर्ने वाध्यता छ, अनि कसरी सकिन्छ ?’

डीएसपी मल्लले आफूहरुले भोगिरहेको चुनौती सुनाउँदै भने– ‘बुटवल प्रदेश नम्बर ५ को राजधानी पनि हो, यहाँ भीआइपीहरुको आवत–जावत बढी नै हुन्छ । तर, शान्ति सुरक्षा कायम गर्न आवश्यक जनशक्ति, पर्याप्त सवारी साधन, अपराध अनुसन्धानका लागि समयसापेक्ष प्रविधिको पनि अभाव छ ।’

बुटवलमा एसपीको दरबन्दी माग

बुटवल उपमहानगरपालिकाको पूर्वमा देवदह, पश्चिममा सैनामैना र दक्षिणमा तिलोत्तमा नगरपालिकासहित ६१२ वर्ग किलोमिटर क्षेत्रफल र ४ लाख ६५ हजार ३७० जनसंख्या (०६८ को जनगणना अनुसार) लाई हेर्ने गरी इप्रका बुटवलमा ४१५ जना प्रहरीको दरबन्दी छ ।

यो संख्या अपर्याप्त भएको भन्दै उद्योग वाणिज्य संघलगायतका संस्थाले इलाका प्रहरी कार्यालय बुटवलको स्तरोन्नति, दरबन्दी संख्या वृद्धि र प्रहरी उपरीक्षक (एसपी) को नेतृत्व हुनुपर्ने माग गर्दै आएका छन् ।

इप्रका बुटवलमा आर्थिक वर्ष ०७४/७५ मा विभिन्न प्रकृतिका ६३० मुद्दा दर्ता भएकामा ३८६ वटा फछ्र्यौट भएका छन् भने २४४ वटा फछ्र्यौट हुन बाँकी छन् । जब कि ०७३/७४ मा ५६५ मुद्दा दर्ता भएकोमा ४१० मात्र फर्छौट भएका थिए ।

गत आर्थिक वर्ष सवारी ज्यानमा ७, हातहतियार तथा खरखजानामा १, सार्वजनिकमा ७, कर्तव्य ज्यानमा १, चोरीमा १, जबरजस्ती करणी उद्योगमा १, जबरजस्ती करणीमा २, ज्यान मार्ने उद्योगमा १ र मानव बेचविखन अन्र्तगत १ मुद्दामा ८१ जना पुरुष र ३ जना महिलामाथि मुद्दा चलेको डीएसपी मल्लले जानकारी दिए ।

त्यसैगरी घरेलु हिंसाअन्तर्गत ३६ वटा र भैंझगडाका ५४ वटा मुद्दा बुटवलमा दर्ता भएका प्रहरीले जनाएको छ । यस अवधिमा कर्तब्य ज्यानका ४, ज्यान मार्ने उद्योगका ४, ठगीका १, लागु औषधका ४, मानव बेचविखन तथा ओसार–पसारका ३, सार्वजनिक १, खुनडाँकाका २ गरी १९ जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । लागु औषधविरुद्ध प्रहरी, सामाजिक संघसंस्था मात्रै होइन स्थानीय सरकार बुटवल उपमहानगरपालिकाले पनि विभिन्न संघसंस्थाको सहकार्यमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

अनलाइन खबर