१३ बैशाख २०८१, बिहीबार
Follow Us

पश्चिम सेती बनाउन थ्री गर्जेजसँग वार्ता

नेपालब्रिटेन संवाददाता
२ श्रावण २०७५, बुधबार ०६:००

काठमाडौं । पश्चिम सेती जलविद्युत आयोजना कम क्षमतामा बनाउन चिनियाँ कम्पनी थ्री गर्जेजसँग वार्ता गरिने भएको छ ।
लगानी बोर्डको बैठकले सुझाव समितिको प्रतिवेदन अनुसार आयोजनाको क्षमता घटाएर बनाउन चिनियाँ कम्पनीसँग वार्ता गर्ने निर्णय गरेको हो । प्रतिवेदनमा ७५० लाई घटाएर ५५० देखि ६२० मेगावाटको बनाउँदा आयोजना निर्माण सजिलो हुने सुझाव रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताउनु भएको छ ।

यस्तै चिनियाँ कम्पनीले १० वर्षसम्म डलरमा पीपीए हुने व्यवस्था बढाउन चाहेको छ । यसलाई बढाउने प्रस्ताव सकारात्मक रहेको बोर्डले जनाएको छ । दुबै विषयमा चिनियाँ पक्षसँग वार्ता गर्न बोर्डले निर्देशन दिएको छ । उहाँले समितिको रिपोर्ट हेरेपछि बोर्डले चिनियाँ पक्षसँग वार्ता गर्न निर्देशन दिएको बताउनु भयो ।

१ खर्ब ९० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माणका लागि थ्री गर्जेजले ७५ प्रतिशत र विद्युत प्राधिकरणले २५ प्रतिशत लगानी गर्ने सम्झौता भएको छ । थ्री गर्जेजले ७५० मेगावाटमा बनाउँदा लागत महंगो पर्ने भन्दै ६०० मा झार्न प्रस्ताव ग-यो । तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले यो प्रस्ताव अस्वीकार गर्नु भयो । तर, २५ फागुनमा लगानी बोर्डले यसबारे अध्ययन गर्न सुझाव समिति बनायो । समितिले आफैं बनाउने वा कम क्षमतामा बनाउन थ्री गर्जेजलाई दिने विकल्प सुझाएको थियो ।

बजेटमा पश्चिम सेती नेपाल सरकार आफैंले बनाउने घोषणा गरियो । तर, लगानी बोर्डले भने चिनियाँ कम्पनीले नै बनाउने धारणा सार्वजनिक गरेपछि आयोजना निर्माण थप अन्यौलमा परेको थियो ।