१५ चैत्र २०८०, बिहीबार
Follow Us

पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२ श्रावण २०७५, बुधबार १०:४१

गोरखा । शहिद लखन गाउँपालिका–६ अँधेरीमा अविरल बर्षापछि गएको पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । पहिरोले नवराज कुँवरको घर पुरिँदा २० वर्षीया सरु कुँवर, १० वर्षीया प्रविना र सरुकी आठ महिने छोरा युनिकको मृत्यु भएको हो । पहिरोमा परि दुई जना सामान्य घाइते भएका छन् । अन्य केही घरसमेत पहिरोको जोखिममा रहेको स्थानीयले बताएका छन् ।

उता, पर्वतमा पनि वर्षासँगै खसेको पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । जलजला गाउँपालिका–८ स्थित लस्ती बेरनेतामा पहिरो जाँदा बमबहादुर परियारका १६ वर्षीय छोरा विकास परियारको मृत्यु भएको हो । पहिरोमा परी हराएका पाँच जना भने सम्पर्कमा आएका छन् । पहिरोले उक्त गाउँका १६ घर जोखिममा परेका छन् । जोखिममा परेका घरका सदस्यलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । जलजला गाउँपालिका–७ धाइरिङ बास्कोटमा पनि पहिरोले घर पुरिँदा ३ जना घाइते भएका छन् । स्थानीय भीमलाल आचार्यको घर पुरिँदा आचार्यसहित ३ जना गम्भीर घाइते भएका हुन् । घाइतेलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पतालमा लगिएको छ ।

यसैबीच, पश्चिम रुकुमको चौरजहारी नगरपालिका–१ स्थित पुरानो बजारमा पनि पहिरोका कारण पाँच घर भत्किएका छन् । बर्षाका कारण सडकको नाली फुटी पहिरो आउँदा अन्य ७ वटा घर उच्च जोखिममा परेका छन् । पहिरोले यज्ञश्वर बिक, तिलक बिष्ट, खिमबहादुर सुनार, गोपाल बहादुर नेपाली र धर्मबहादुर नेपालीको घर भत्किएको हो । शहरी विकास कार्यालयको लापर्वाहीका कारण नाली बनाएको पाँच महिना नबित्दै भत्किएको हो ।