७ बैशाख २०८१, शुक्रबार
Follow Us

सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच गोप्य भेटमा के भयो ?

नेपालब्रिटेन संवाददाता
२ श्रावण २०७५, बुधबार १०:४७

काठमाडौं । नेपाली कांग्रेसका शिर्ष नेताहरुको बैठकले चिकित्सा शिक्षा अध्यादेश अनुसारकै विधेयक संसदमा पेश नगरे संसद चल्न नदिने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले तोडमोड गरी ल्याइएको विधेयक विरुद्धमा दबाव बढाउने निर्णय गरेको हो । सरकारका पछिल्ला निर्णयप्रति आपत्ती जनाउदै कांग्रेसले संसद र सडकबाट दवाव दिने बताएको छ ।

शिर्ष नेताहरुको बैठक सुरु हुनु अघि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छुट्टै भेटवार्ता भएको थियो। पार्टीको विधान मस्यौदा समितिका लागि बिहीबारसम्म नाम दिन सभापति देउवाले पौडेलसँग आग्रह गरेका छन् । विधान मस्यौदा समिति ९ देखि ११ सदस्यीय हुने छ । बैठकले साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्नेसहितका सरकार विरुद्धका कार्यक्रम सशक्त पार्ने पनि निर्णय गरेको छ ।

कांग्रेस भ्रातृ संगठनले भने ३, ५ र ८ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेका छन् । सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयन गर्नुपर्ने, डाक्टर गोविन्द केसीका माग सम्वोधन गर्नुपर्ने, निषेधित क्षेत्र तोक्न नहुने लगायतका माग राख्दै कांग्रेसले आन्दोलन गरिरहेको छ ।