११ बैशाख २०८१, मंगलवार
Follow Us

डा केसीका माग सम्बोधन गरिनुपर्छ : गगन थापा

नेपालब्रिटेन संवाददाता
२ श्रावण २०७५, बुधबार १५:२३

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आमरण अनशन बसिरहनुभएका डा गोविन्द केसीका माग तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन र हिल होम केयर प्रालिले संयुक्त रुपमा सञ्चारकर्मीहरुका लागि आज यहाँ आयोजना गरेको ‘निशुल्क स्वास्थ्य परीक्षण’ कार्यक्रमको उद्घाट्न गर्दै पूर्वस्वास्थ्यमन्त्री थापाले डा केसीका माग पूरा गर्नेतर्फ सरकार आवश्यकतानुसार अग्रसर नभएको आरोप लगाउनुभयो ।

उहाँले चिकित्सा क्षेत्र सुधारको विषय राज्यको पुनःसंरचनाको चरित्रसँग जोडिएको बताउँदै शिक्षा र स्वास्थ्य जस्ता जनताका मौलिक हकसँग जोडिएका क्षेत्रलाई मुनाफाको विषय बनाउनु नहुनेमा जोड दिनुभयो ।

माथेमा आयोगको प्रतिवेदन र विभिन्न कार्यदलको सिफारिशमा काँग्रेस नेतृत्वको तत्कालीन सरकारले चिकित्सा शिक्षासम्बन्धी विधेयक ल्याएको स्मरण गराउँदै उहाँले आम जनताको चाहना विपरीत आउने विधेयकलाई स्वीकार्न नसकिने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा सुरेश आचार्यले आफ्नो पेशामा सधैँ व्यस्त हुने सञ्चारकर्मीले नियमित रुपमा आफ्नो स्वास्थ्यका बारेमा पनि ख्याल गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, नेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक डा प्रकाश पौडेललगायतले नियमित स्वास्थ्य परीक्षण गराउँदा गम्भीर रोगबाट हुने खतराबाट बच्न सकिने धारणा राख्नुभएको थियो ।