६ चैत्र २०८०, मंगलवार
Follow Us

प्रमुख समाचार शहीदचोकमा ट्राफिक लाइट राखिँदै

sarusaru
३ श्रावण २०७५, बिहीबार ०५:३६

भरतपुर । ट्राफिक व्यवस्थापन गर्न नारायणगढको शहीदचोकमा ट्राफिक लाइट राखिने भएको छ । सवारी आवागमनलाई सहज बनाउन भरतपुर महानगरपालिकाले ट्राफिक लाइट राख्ने तयारी गरेको महानगरका वातावरण शाखा प्रमुख वरिष्ठ इन्जिनियर विराट घिमिरेले बताए ।
‘सवारीसाधन आवागमनलाई सिस्टम ल्याउन लाइट राख्न लागिएको हो’ उनले भने, ‘यसले नारायणगढ बजार व्यवस्थापनमा पनि सहयोग पुग्छ ।’
लाइट राख्नका लागि करिब २५ लाख रुपैयाँको लागतमा महानगरले यार्सा टेक्नोलोजीसँग सम्झौता गरेको इन्जिनियर घिमिरेले जानकारी दिए ।
उनका अनुसार असार अन्तिमसम्म शहीदचोकमा ट्राफिक लाइट राख्ने तयारी गरिएको छ । जसका लागि महानगरले २० प्रतिशत लगानी गर्नेछ । बाँकी ८० प्रतिशत लगानी यार्सा टेक्नोलोजीको हुने इन्जिनियर घिमिरे बताउँछन् ।
यार्साले पाँच वर्षसम्म ट्राफिक लाइट सञ्चालन गर्नेछ । सञ्चालन अवधिभर लाइटको हेरचाह र मर्मतसंभार गर्नेछ । यार्साले विज्ञापन राखेबापत हुने आम्दानीबाट आफ्नो लगानी उठाउने गरी सम्झौता गरेको हो । ट्राफिक लाइट राखिसकेपछि सिस्टममा जाने हुँदा सवारीसाधन आवागमन सहज हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतम बताउँछन् ।
‘अहिले चार÷पाँच जना प्रहरी राखेर व्यवस्थापन गर्नु परेको छ’, उनले भने, ‘सिस्टममा जाँदा भने एक जना राखेर व्यवस्थापन गर्न सक्छौँ ।’
यसैगरी, सर्वसाधारणलार्ई बाटो काट्न सजिलोका लागि महानगरका प्रमुख चोकमध्ये तीन स्थानमा आकाशे पुल बनाउने नीति तथा कार्यक्रम नगरपालिकाले अघि सारेको छ । नारायणगढको लायन्सचोक, शहीदचोक र पुल्चोक तथा भरतपुर हाइटको चौबिसकोठी, हाकिमचोक, केन्द्रीय बस टर्मिनलचोकमध्ये तीन स्थानमा आगामी वर्ष आकाशे पुल बनाइने वरिष्ठ इन्जिनियर घिमिरेले जानकारी दिए ।