६ चैत्र २०८०, मंगलवार
Follow Us

डा. केसीका समर्थक र प्रहरीबीच झडप, दुई दर्जन बढी घाइते

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०७५, बिहीबार ०९:१५

जुम्ला । जुम्लामा २० दिनदेखि अनसनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउन सरकारले हेलिकोप्टर पठाए पनि उनी आउन नमानेपछि प्रहरीले लाठीचार्ज गरेको छ । डाक्टर केसीले आफ्ना माग पूरा नभएसम्म काठमाडौं नआउने बताए पनि जबरजस्ती गरेको भन्दै समर्थकहरुले प्रदर्शन गरेका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी र डाक्टरहरुले अस्पतालको गेटमा तालाबन्दी गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

अपहरणको शैलीमा डा. केसीलाई काठमाडौं लैजान खोजिएको भन्दै विरोधमा उत्रेकाहरुमाथि प्रहरीले लाठी चार्ज गरेको हो । प्रहरी हस्तक्षेपबाट प्रतिष्ठानका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीसहित दुई दर्जनबढी घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर रहेको छ । केही प्रहरी पनि घाइते भएका छन् ।

प्रहरीले चलाएको गोली लागि एक जना प्रहरी नै घाइते भएका छन् । विरोधका कारण डाक्टर केसीलाई काठमाडौं ल्याउन गएको टोली अस्पताल प्रवेश गर्न सकेको थिएन । स्थानीय जनताले पनि डाक्टर केसीको पक्षमा अस्पताल बाहिर विरोध प्रदर्शन गरेका थिए ।

प्रहरी आक्रमणमा प्रतिष्ठानका शिशा फोडिनुका साथै एक करोड बराबरको क्षति भएको जनाइएको छ । डा. केसीले सरकार बर्बर दमनमा उत्रेको र विद्यार्थी कुटिएको हेर्न नसक्ने भन्दै आफू काठमाडौं जान तयार रहेको बताएका छन् ।