६ चैत्र २०८०, मंगलवार
Follow Us

सहकारीले मानिसलाई मेहनती बनायो

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०७५, बिहीबार १४:२०

सतिदेवी ढकाल, अध्यक्ष, मनकामना कृषि सहकारी, कोहलपुर

सहकारी र राजनीतिमार्फत समाज परिवर्तनमा होमिएकी सतिदेवी ढकाल नेपाली समाज घरेलु हिंसाको नमुना बनेको बताउँछिन् । हरेक क्षेत्रमा समान अवसर र पहुँच हुनुपर्ने मान्यता उनको छ । उनले बाँकेको कोहलपुरमा कृषि सहकारी सञ्चालन गरेकी छन् । सो सहकारीले सीप भएका, तर पुँजी नभएकालाई बिना धितो ऋण प्रवाह गर्छ । न्यून ब्याजमा दिएको ऋणले कृषकमा वचत गर्ने बानी बसेको मात्र छैन, मेहनति र उद्यमीसमेत बनाएको ढकालको दाबी छ । सहकारी अभियान, उनको राजनीति र घरपरिवारबारे ढकालसँग कुमार राउतले गरेको कुराकानी ः

० कृषि सहकारीले के गर्छ ?
– साना किसानको पक्षमा पैरवी गर्छ । किसानको साना र मझौला आवश्यकतामा सहयोग पु¥याउँछ ।

० सहकारीको जिल्ला नेतृत्वमै हुनुहुन्छ नि होइन ?
– अहिले केही विवाद आएकाले नेतृत्वमा छैन । सहकारी अभियानमा राजनीतिलाई जोडेर हेर्न थालिएपछि विवाद सुरु भएको हो ।

० के विवाद आयो ?
– यस विषयमा अहिले नै बोल्दा हतार होला, त्यसकारण विवादले गर्दा नेतृत्व चयन हुन सकेको छैन । अहिलेलाई त्यति मात्र भनौं । सहकारी अभियानलाई राजनीतिसँग नजोडौं भन्ने भनाइ मेरो हो ।

० सहकारी अभियानमा राजनीति जोडियो ?
– अहिलेलाई त्यस्तै देखिएको छ, मिलाउने प्रयास भइरहेको छ । छिट्टै मिल्छ भन्ने मलाई विश्वास छ ।

० तपाईंको सहकारीले के गर्छ ?
– मनकामना कृषि सहकारी हो, कृषकको हितमा काम गर्छौं । कृषकको वचत गरिदिन्छौं । विना धितो डेढ लाख रुपैयाँसम्म ऋण दिन्छौं ।

० कस्ताले ऋण पाउँछन् ?
– आवश्यक परेका सदस्यले ऋण पाउँछन् । दूध डेरी, बाख्रा पालन, मासु पसल खोल्ने र गाडी किन्नलाई हामी ऋण उपलब्ध गराउँछौं ।

० ब्याज कति लिनुहुन्छ ?
– सयकडा दुई प्रतिशत ब्याज लिन्छौं । हामीले प्रवाह गरेको ऋणको व्याज बैंकको भन्दा सस्तो हुन्छ ।

० ऋण लिएर तरक्की गर्ने कषक पनि छन् ?
– छन् किन नहुनू । विशेष गरी मासु पसल, भैसी पालन र दूध डेरीले राम्रै सफलता पाएका छन् ।

० समाज परिवर्तनमा सहकारीको भूमिका छ ?
– एकदमै ठूलो भूमिका निर्वाह गरेको छ । विशेषतः थोरै पुँजीबाट केही गर्छु भन्नेहरूका लागि सहकारीले योगदान पु¥याइरहेको छ । मानिसमा वचत गर्ने चेतना पनि वृद्धि भएको छ । कृषकलाई मेहनति बनाएको छ भने जीवनलाई सहज बनाएको छ ।

० राजनीतिमा पनि संलग्न हुनुहुन्छ ?
– छु, म नेपाली कांगे्रसमा आबद्ध छु, जिल्ला सदस्यसम्म भएँ, अहिले पद नभए पनि कांगे्रसको हरेक गतिविधिमा संलग्न हुन्छु ।

० पार्टीले पद दिएको छैन ?
– वडाध्यक्षमा नाम सिफारिस भएको थियो, जातीय सन्तुलन मिलाउने नाममा टिकट पाइनँ, प्रदेश सांसदमा पनि नाम सिफारिस भएको थियो, अन्त्यमा टिकट दिइएन ।

० किन टिकट दिएनन् त ?
– पार्टीभित्रको चरम गुटबन्दीले गर्दा हुनसक्छ । आफू गुटबन्दीको विरोधी परियो, नेतृत्वपंक्तिले यो तेरो, यो मेरो भन्न थालेपछि इमान्दार र अनुशासित कार्यकर्ता पाखा लाग्नुपर्दो रहेछ ।

० कांगे्रसमा जहिले गुटबन्दी हुन्छ ?
– कांगे्रसमा मात्र होइन, नेपालका राजनीतिक दल सबैमा यस्तो गुटबन्दी देखिएको छ । गुटबन्दीले पार्टीलाई नोक्सान गर्छ । सक्षम व्यक्तिले अवसर पाउँदैनन् ।

० गुटबन्दीको सिकार हुनुभएछ ?
– हो, मेरो नाम पहिले उपमेयरमा सिफारिस भएको थियो, त्यहाँ पनि भएन । फेरि वडाध्यक्षमा पनि त्यस्तै भयो । प्रदेश सांसदको समानुपातिकमा राख्ने भनियो, तर त्यहाँ पनि राखिएन । निर्णायक पंक्तिमा आफू फुच्चे भइयो होला ।

० कम्युनिस्टतिर लाग्नुभएन ?
– कम्युनिस्ट त बन्नै सकिन्न, जन्मजात कांगे्रस परियो । नेपाली कांगे्रसले मात्र समाज परिवर्तन गर्न सक्छ, गरिब दुःखीको घाउमा मलम लगाउन सक्छ भन्ने मलाई विश्वास छ ।

० कहिलेदेखि कांगे्रस ?
– बोल्न जान्दादेखि नै कांगे्रस हुँ, बुवाले नै नेपाली कांगे्रसको झण्डा चिनाइदिनु भएको हो । ०४६ सालपछि चाहिँ म सक्रिय भएर कांगे्रसमा लागेकी हुँ ।

० बुवा चाहिँ पार्टीमा के हुनुहुन्थ्यो ?
– बुवा नेपाल आर्मीमा हुनुहुन्थ्यो । बीपी कोइरालाको गार्ड बस्नुभएको थियो । उहाँ बीपीबाटै प्रभावित हुनुभएर कांगे्रस बन्नुपर्छ भनेर हामीलाई सिकाउनु भएको थियो ।

० विद्यार्थी राजनीतिमा संलग्न हुनुभयो ?
– एसएलसी दिएपछि ०५१ सालमा विवाह भइहाल्यो, त्यसपछि पारिवारिक झमेलामा परें । अध्ययनलाई पनि अघि बढाउन सकिनँ ।

० सानैमा विवाह गर्नुभएछ त ?
– घरमा माग्न आए, पढ्छु, अहिले विवाह गर्दिन त भनें, तर छोरीलाई अभिभावकको कुरा काट्न अप्ठ्यारो हुँदो रहेछ । अरु जस्तै म पनि आज्ञाकारी भएर विवाह गरें ।

० विवाह कसरी सम्भव भयो ?
– म सर्लाहीकी हुँ, हाम्रा नातेदार एकजना दिदीको बाँके कोहलपुरमा विवाह भएको थियो । उनै दिदीमार्फत मेरो पनि विवाह सम्भव भएको हो ।

० विवाहपछि ?
– बुहारी भइयो, पण्डितको घर सम्हालेर बसें, श्रीमान् शिक्षक हुनुहुन्थ्यो । दुई छोरी एक छोरा छन् । छोरी टियूमा उच्च शिक्षा हासिल गर्दैछिन् भने छोरा स्कुल पढ्दैछ ।

० श्रीमान्ले पढनुपर्छ भन्नुभएन ?
– उहाँले प्रयास गर्नुभएको थियो, उमेर हुँदासम्म परिवार हुर्काउन र घर सम्हाल्दा नै समय बित्यो । उमेर ढल्केपछि अब पढेर के हुन्छ भन्न थालियो ।

० कहिलेकाहीँ पढाइ पुगेनजस्तो लाग्दैन ?
– लाग्छ नि किन नलाग्नू । स्नातकसम्म पढेको भए मेरो पोजिसन बेग्लै हुन्थ्यो भन्ने मनमा खड्किन्छ ।

० श्रीमान्ले सहयोग गर्नुभयो ?
– नेपाली समाजमा श्रीमान्को सहयोगबिना केही सम्भव हुँदैन । उहाँकै सहयोगले अहिले सहकारी अभियान र नेपाली कांगे्रसको राजनीतिमा संलग्न छु ।

० राजनीतिमा लागेर के गर्छु भन्ने छ ?
– सहकारी अभियान र राजनीतिबाट समाज परिवर्तन गर्न सकिन्छ भनेर लागेको हुँ । विशेषतः महिला हिंसा, हरेक ठाउँमा समान अवसर र पहुँच हुनुपर्छ भन्ने मान्यता राख्छु । हाम्रो क्षेत्रमा महिला हिंसा एकदमै बढेको छ । श्रीमतीको टाउको बोकेर इलाका कार्यालयमा समेत आएको घटना धेरै पुरानो होइन । यस्ता घटना नियन्त्रण हुनुपर्छ ।