१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपाली राष्ट्रिय क्रिकेट टिम लण्डन आइपुग्यो

नेपालब्रिटेन डट कम्
४ श्रावण २०७५, शुक्रबार ००:२२

लण्डन । लण्डनको लर्ड्स मैदानमा यहि जुलाई २९ मा हुने खेलको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरु लण्डन आइपुगेका छन् ।

मेर्लिबोन क्रिकेट क्लब (एमसिसी ) र नेदरल्याण्डसंग खेल्ने त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली विहिबार राती लण्डन उत्रिएको हो । खेलाडीहरुसंगै टिमका प्रशिक्षक जगत टमाटा, टिम म्यानेजर रमण शिवाकोटी, फिजियो दिनेश भट्ट र एक ब्याटिङ प्रशिक्षक समेत बेलायत पनि आएका छन् ।

१५ सदस्यीय टोलीका खेलाडीमध्ये शरद भेषवाकर अमेरिकाबाट विहिबार दिउंसो नै लण्डन आइपुगेका थिए भने बांकी सबै खेलाडी एकसाथ लण्डन आइपुगेका छन् ।

नेपाली क्रिकेट टोलीको स्वागतका लागि लण्डनस्थित नेपाली दूतावासका द्धितिय सचिव लब सुवेदी,एनआरएन यूकेमहासचिव आरके त्रिपाठी तथा खेलको प्रचारप्रसारमा खटिएका बेलायतस्थित युवाहरुको समहुबाट विनोदविकास सिंखडा लगायत विमानस्थल पुगेका थिए ।

यसअघि विहिबार सांझ नै लण्डन उत्रिने कार्यक्रम रहेपनि फलाइट डिले भएका कारण खेलाडीहरु राती अबेर मात्रै आइपुगे । विश्व प्रतिष्ठित लर्ड्स मैदानमा हुने यो खेलका लागि पारस खड्काको कप्तानी रहेको टोलीमा ४ जना वैकल्पिक खेलाडीसहित कुल १५ जना खेलाडी छन् ।

लर्ड्सको खेलको लागि लण्डन आउने नेपाली टोलीमा कप्तान खड्कासंगै ज्ञानेन्द्र मल्ल, अनिल शाह, बसन्त रेग्मी, दिपेन्द्रसिंह ऐरी, करन केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी र सुवास खकुरेल छन् । त्यस्तै वैकल्पिक खेलाडीका रुपमा विनोद भण्डारी, प्रदीप ऐरी, सुसान भारी र सुनिल धमला पनि आएका छन् ।

लर्ड्समा हुने त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेललाई अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद आइसीसीले अन्तर्रा्ष्ट्रिय मान्यता प्रदान गरेको छ ।प्रतियोगितामा पहिलो खेल एमसिसी र नेदरल्याण्डबीच हुनेछ भने त्यसपछि एमसिसी र नेपाल तथा अन्त्यमा नेपाल र नेदरल्याण्डबीच खेल हुनेछ । यो प्रतियोगितामा एमसिसीको कप्तानी श्रीलंकाका पूर्व क्रिकेटर महेला जयबद्र्धनेले गर्नेछन् ।

यो खेलअघि केहि अभ्यास खेलहरु खेल्नको लागि नेपाली खेलाडीहरु केहि दिन पहिले नै बेलायत आइपुगेका हुन् ।