१३ बैशाख २०८१, बिहीबार
Follow Us

महोत्तरीमा लागूऔषध दुर्व्यसनी बढ्दै

sarusaru
४ श्रावण २०७५, शुक्रबार ०६:३४

बर्दिवास । महोत्तरी जिल्लामा लागूऔषध दुर्व्यसनीको संख्या वर्षेनी बढ्दै गएको छ।

आर्थिक वर्ष २०७४/०७५ को तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीले यो जानकारी दिएको हो। गत आव २०७४/०७५ मा लागूऔषध दुर्व्यसनसम्बन्धी ४५ मुद्दा दर्ता गरिएका छन्। यसअघि आव २०७३/०७४ र २०७२/२०७३ मा क्रमशः २५ र १७ वटा घटना दर्ता भएका थिए।

पछिल्लो गत आव २०७४/०७५ मा दर्ता गरिएका मुद्दामध्ये छुट्टाछुट्टै केलाउँदा जिल्लाको बर्दिवास नगरपालिका क्षेत्रमा सबैभन्दा बढी १४ घटना दर्ता भएका छन्। त्यसअघिका आव २०७३/०७४ र २०७२/०७३ मा पनि लागूऔषध दुव्र्यसनसम्बन्धी घटना पनि बर्दिवास नगर क्षेत्रमै अन्य ठाउँभन्दा बढी रहेका जिप्रका महोत्तरीका प्रहरी उपरीक्षक कुवेरसिं कडायतले जानकारी दिए।

जिल्लाको घटना अभिलेखअनुसार बर्दिवास नगर क्षेत्र अत्यन्त संवेदनशील मानिएको छ। लागूऔषध दुर्व्यसनी र कारोबारीले बर्दिवासलाई नै केन्द्र बनाएका पाइएको प्रहरी अधिकारीको भनाइ छ।

दुव्र्यसनीले गाँजा र चरेश मकवानपुरतिरबाट र लागूऔषधका चक्की ९गोटी०, क्याप्सुल र सुई महोत्तरीको भारतीय सीमावर्ती कन्हमा र भिठ्ठामोरबाट लिने गरेका पाइएको प्रहरी अनुसन्धानले देखाएको छ।

भारतको बजार भिठ्ठामोर र कन्हमाबाट बर्दिवास र जनकपुरक्षेत्रका दुव्र्यसनीले लागूऔषध लिएर नेपाल फर्कने गरेका पाइएको प्रउ कडायत बताउछन्। लागूऔषधको प्रयोग र कारोबारमा बर्दिवासपछि यी नाकाको प्रयोग गर्नेमा जनकपुर भेगका युवा र किशोर पाइएको प्रहरीले जनाएको छ।

लागूऔषध दुव्र्यसन र कारोबारमा १५ देखि ३० वर्ष उमेर समूहका युवा र किशोरको संख्या बढी देखिएको छ। गत आव २०७४÷०७५ मा पक्राउ परेका ४५ जनामध्ये ३५ जना १५ बर्षदेखि ३० बर्ष उमेर समूहका पाइएको प्रउ कडायतले बताए। यस अवधिमा बर्दिवासबाट २९ किलो गाँजा, एकहजार ५२० नाइट्राभेट चक्की, डाइजेपाम ९०, स्पास्मो २९७ र ब्रफिनोर्फिन १० वटा बरामद गरेको प्रहरीले जनाएको छ।

बर्दिवास नगर क्षेत्रमा दुव्र्यसनीको जमघट बढ्दै गएको तथ्यांक नै आएपछि इलाका प्रहरी कार्यालय, बर्दिवासले खासखास अखाडा चिन्हित गरी सघन चेकजाँच गर्दै आएको छ। दुव्र्यसनीले यसअघिका जमघट हुने अखडा फेर्दै जाने गरेका पाइएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख प्रहरी नायब उपरीक्षक नकुल पोखरेल बताए।

बर्दिवास नगर क्षेत्रमा प्रहरीले थालेको दुव्र्यसनी खोज अभियानमा विद्यालयमा पढिरहेका किशोर उमेरका विद्यार्थी र कूलीन गनिने परिवारका समेत किशोर र युवा संलग्न पाइएको प्रहरी अनुसन्धानले देखाएको छ।

आफ्ना नानीहरुको संगत, उनीहरु विद्यालय नियमित जाने गरे नगरेको सोधखोज र परिवारमा सामूहिक बसउठ बढाउनतिर अभिभावकले ध्यान दिन पर्ने प्रनाउ पोखरेलको सुझाव छ।
रासस