१३ बैशाख २०८१, बिहीबार
Follow Us

दवाव दिन आज पनि चिकित्सकको आन्दोलन जारी

नेपालब्रिटेन संवाददाता
४ श्रावण २०७५, शुक्रबार ०७:००

काठमाडौं । एक्काइस दिनदेखि अनसनमा रहेको चिकित्सक गोविन्द केसीको माग पुरा गर्न दवाव दिने उद्देश्यले देशभरका चिकित्सकले आज पनि आन्दोलन जारी राखेका छन् । केसीका माग पुरा गर्न दबाव दिने उद्देश्यले चिकित्सकहरुले आज विहान दश देखि एघार बजेसम्म अस्पताल अगाडी धर्ना दिएका छन् ।

यसअघि उनीहरुले हिजो देशभर आकस्मिक बाहेकका उपचार सेवा ठप्प पारेका थिए । अनसनका विच डाक्टर केसीलाई सेनाको हेलिकप्टरवाट हिजो थप उपचारका लागि जुम्लावाट महाराजगन्जस्थित शिक्षण अस्पताल ल्याइएको थियो । आफूलाई अपहरणको शैलीमा काठमाडौ ल्याइएको भन्दै केसीले आफ्नो ‘सत्याग्रह’ जारी रहने बताएका छन् । केसीले संसदमा सरकारले पेश गर्न लागेको चिकित्साशिक्षा विधेयक फिर्ता गर्नुपर्ने अडान राखेका छन् ।

चिकित्सा शिक्षा क्षेत्रमा सुधार हुनुपर्ने माग राख्दै पटक पटक अनशन बसिसकेका केसीले यसअघिको सरकारले ल्याएको चिकित्सा शिक्षाको अध्यादेशबमोजिम नै विधेयक ल्याउनु पर्ने माग राख्दै आएका छन् । उक्त पुरानो अध्यादेशमा सरकारी शिक्षण संस्थामा न्यूनतम छात्रवृत्ति संख्या ७५ प्रतिशत पु-याउने र पूर्ण रूपमा अस्पताल सञ्चालन भएको तीन वर्षपछि मात्र एमबीबीएस पढाउन पाइनेलगायतका प्रावधान राखिएको भएपनि हाल संसद्मा दर्ता विधेयकमा भने त्यसलाई हटाइएको बताइएको छ ।

काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने भन्ने प्रावधानलाई समेत हालको विधेयकमा हटाइएकाले त्यसले गुणस्तरीय चिकित्सा शिक्षा प्राप्त नहुने केसीको दावी छ ।