१३ बैशाख २०८१, बिहीबार
Follow Us

भूकम्प पीडितको नाममा उठेको रकम किन विदेशी बैंकमा ? (सम्पादकीय)

नेपालब्रिटेन डट कम्
२४ भाद्र २०७३, शुक्रबार ११:५४

काठमाण्डौं । नेपाल ब्रिटेन डट कममा सोमवार प्रकाशित भूकम्प पीडितको ३ करोडभन्दा बढी रुपैयाँ एनआरएन उपाध्यक्ष भवन भट्टको निजी खातामा भन्ने समाचारले नयाँ तथ्यहरु फेला परेका छन् । नेपालमा पीडित देखाएर विदेशमा रकम संकलन गर्ने र बैंकमा थन्काउँदै जाने हो भने त्यसले विकराल समस्या सिर्जना गर्ने मात्र होइन, एनआरएन अभियानमा ठेस लाग्ने र विदेशमा बस्ने लाखौं नेपालीको स्वाभिमानमा चोट पुग्नेछ ।

समाचारलाई गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्टले चरित्र हत्याको पपञ्चका रुपमा लिएको बुझियो । उक्त समाचारमा उल्लेख भएअनुरुप गैरआवासीय नेपाली संघको अमेरिकास्थित न्युजर्सीमा सम्पन्न बैठकमा भूकम्प पीडितका लागि संकलित रकमका बारेमा ठूलै धम्साघम्सी भएको पुष्टि भट्ट स्वयमले जारी गरेको विज्ञप्तिले पारेको छ । भट्टले विज्ञप्तिमा गैरआवासीय नेपाली संघको बैठकमा भएका ‘गोप्य’ भनिएको सूचना मिडियामा कसरी गयो भनेर संघप्रति प्रश्न गरेका छन् ।

भूकम्प गएको १७ महिनासम्म पीडितका नाममा संकलित करोडौ रुपैयाँ विदेशी बैंकमा फ्रिज गरेर राख्नु कुनै पनि हिसावले न्यायोचित होइन । गैरआवासीय नेपाली संघ जापानको खातामा संकलित २ करोड भन्दा बढी रुपैयाँ कस्को अख्तियारीमा भूकम्प पीडित राहत तथा सहयोग समितिको खातामा ट्रान्फर गरियो भन्ने प्रश्न अझै अनुन्तरित छ ।

भट्ट स्वयम संयोजक रहेको भूकम्प पीडित राहत तथा सहयोग समितिको खातामा रहेको रकम लामो समयसम्म गुप्पचुप पारेर राखिनु स्वभाविक मान्न सकिन्न र मान्नु पनि हुँदैन । भूकम्प पीडित राहत तथा सहयोग समिति, गैरआवासीय नेपाली संघ जापान र स्वय उपाध्यक्ष भवन भट्टले पीडितको नाममा संकलित करोडौं रुपैयाँ जापानको बैंकमा थन्किाएर राखिएको स्वीकार गरिसकेका छन् ।
14249243_10210328259825516_1922633315_n
कसको खातामा रकम जम्मा भएको छ, त्यो गौण विषय हो, तर भूकम्प पीडितले राहत पाए वा पाएनन त्यो महत्वपूर्ण बिषय हो । गैरआवासीय नेपाली सँघ जापानको खातामा संकलित रकम सिधै एनआरएन आइसीसीको खातामा ट्रान्सर नहुदाँ ठूलो रकम फ्रिज हुन पुगेको बताएको छ । सो रकम दुरुपयोग गरेको वा कुनै ब्यक्तिगत प्रयोजनका लागि प्रयोग भएको बिषय नेपाल ब्रिटेन डट कमले कहिकतै उल्लेख गरेको छैन् ।

नेपाल ब्रिटेन डट कमको मुख्य ध्येय भनेको गैरआवासीय नेपाली संघको स्रोतबाट प्राप्त सूचनालाई पाठक समक्ष जस्ताको तस्तै राख्नु हो । जुन उद्देश्यका लागि रकम संकलन गरिएको हो, त्यो रकम जतिसक्दो चाँडो पीडितको हातमा परोस् भन्ने हो । ताकि गैरआवासीय नेपालीको छवीमा कसैले औंला ठडाउन नपाउन ।

कसैको ब्यक्तिगत चरित्र हत्या गर्ने वा अन्य कुनै नियतवस समाचार प्रकाशन गरिएको छैन । पत्रकारिताको मूल मर्म र धर्मबाट हामी अलिकति पनि विचलित छैनौं । हामीले आईसीसीको बैठकमा भएको छलफललाई समाचार बनाएका हौं, त्यसैले उपाध्यक्ष भट्टलाई उक्त समाचारबारे सोध्न आवश्यक ठानेनौं । बैठकमा जसले जे बोलेका हुन्, हामीले जस्ताको त्यस्तै राखेका छौं ।

गैरआवासीय नेपाली संघका अभियान्ताहरुको मान प्रतिष्ठामा कुनै आँच पु-याउने हाम्रो मिसन होइन, त्यस्तो मिसन राख्नु हुँदैन भन्ने मान्यतामा नेपाल ब्रिटेन डट कम अडिग छ । कतिपयले उक्त समाचारलाई गैरआवासीय नेपाली संघको आगामी नेतृत्वसँग जोडेर विश्लेषण गरेको पाइयो । यदि त्यस्तो विश्लेषण गरियो भने गलत हुनेछ ।

एनआरएनको अभियानमा साथ र सहयोग गर्न नेपाल ब्रिटेन डट कम लेसभर डगमगाउँदैन । संघको नेतृत्वका कस्लाई पु-याउने वा कसलाई खुइलाउने त्यो नेपाल ब्रिटेन डट कमको सरोकारको विषय होइन । व्यवसायिक पत्रकारिताको धर्म विपरित नेपाल ब्रिटेन डट कम एक कदम अघि बढ्न चाहँदैन र बढ्दैन ।

यदि समाचार असत्य भए त्यसको निरुपणको विधि र प्रकृया हुन्छ । अमर्यादित रुपमा प्रस्तुत हुँदा गल्तीे ढाकछोप होइन, द्वन्द्व सिर्जना हुन्छ । द्वन्द्वबाट टाढा बस्नु बुद्धिमानी हो । आगामी दिनमा त्यस्ता गतिविधि हुन गए त्यसलाई हामी जनसमक्ष ल्याउन डराउँदैनौं । हामी हाम्रो उद्देश्य र कर्तब्यबाट किन्चित भाग्ने छैनौं, हाम्रो हतियार भनेकै कलम हो, यही कलमले प्रतिकार गर्नेछौं ।

विदेशमा बसेर नेपालका पीडितलाई देखाएर रकम संकलन गर्दै बैंकमा जम्मा गर्ने हो भने एनआरएन कता जाँदैछ भनेर सहजै अनुमान गर्न सकिन्छ । त्यसको सूचना प्रवाह गरेर हामीले खबरदारी गर्न नपाउने भन्ने प्रश्नै उठ्दैन ।