१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पहिरोले घर पुर्दा दुईको ज्यान गयो, तीन घाइते

sarusaru
४ श्रावण २०७५, शुक्रबार १२:२०

जाजरकोट। अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाउँपालिका–६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेका दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। प्रहरीका अनुसार ५५ वर्षीया लली बुढा र उनकै नातिनी नौ वर्षीया सिर्जना बुढाको घटनास्थलमै मृत्यु भएको छ।

घरमुली भक्तबहादुर बुढाको बिहीबार राति ११ बजेतिर सुतिरहेको अवस्थामा घरमाथिबाट एक्कासि पहिरो आउँदा उक्त घटना भएको हो।

घरमुली भक्तबहादुर, उनकै नाति १३ वर्षीय पारस बुढा र सात वर्षीया नातिनी खिमा बुढा घाइते भएका छन्। घाइतेमध्ये अन्यको अवस्था सामान्य भए पनि खिमाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले बताए।

मृतकको शव परीक्षण र घाइतेलाई थप उपचारका लागि सदरमुकाम ल्याउने तयारी भइरहेको छ। इलाका प्रहरी कार्यालय गर्खाकोटबाट आज गएको प्रहरी टोलीले चार घण्टा लगाएर दिउँसो १ः३० बजेमात्र मृतकको उद्धार गरेको थियो।
डिसी नेपाल