१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अर्यालको उपन्यास थेम्स डायरी बजारमा

नेपालब्रिटेन डट कम्
४ श्रावण २०७५, शुक्रबार २१:०१

लण्डन । लण्डनमा बस्दै आएका युवा लेखक रवि अर्यालको पहिलो उपन्यास थेम्स डायरी बजारमा आएको छ ।
नेपालस्थित बुलबुल प्रकाशन प्रालिबाट प्रकाशित थेम्स डायरी असारको अन्तिम सातादेखि बजारमा आएको हो ।

उपन्यास बेलायतका पाठकहरुको लागि बेलायतमै समेत उपलब्ध भइसकेको छ । केहि समयभित्रै एक औपचारिक कार्यक्रममा बेलायतमा उपन्यास विमोचन गराउने लेखकको योजना छ ।
थेम्स डायरी अध्ययनको लागि बेलायत आएका ४ जना नेपाली युवा विद्यार्थीको कथामा आधारित छ । विदेशमा अध्ययनरत विद्यार्थीको रुपमा उनीहरुको जीवनका प्रेम, सम्बन्ध, करियर लगायतका विविध पक्षहरुमा आउने उतारचढावहरुको जिवन्त प्रस्तुति उपन्यासमा पाइन्छ ।

रोमान्टिक जेनरको उपन्यास थेम्स डायरीले धेरै पाठकको मन जित्न सफल हुने विश्वास लेखक अर्यालले गरेका छन् । लेखनप्रति लामो समयदेखिको आफ्नो रुचीलाई थेम्स डायरीका रुपमा पाठकहरुमाझ अभिव्यक्त गर्न पाएकोमा उनी खुशी छन् ।
नेपालमा गुल्मीको तुराङ घर भएका लेखक अर्याल पछिल्लो ९ वर्षदेखि बेलायतमा बस्दै आएका छन् । उनले बेलायतको हेरियट वाट युनिभर्सिटीबाट एमएस्सीसम्मको अध्ययन पूरा गरेका छन् ।
विभिन्न पत्रपत्रिकाहरुमा समेत नियमित रुपमा समसामयिक लेख, रचना र कथाहरु प्रकाशित गर्दै आएका अर्याल चोटिला र रमाइलो स्टाटसहरुका कारण सामाजिक सञ्जाल प्रयोगकर्तामाझ पनि लोकप्रियता कमाउन सफल छन् ।
थेम्स डायरी पढ्न चाहने बेलायतस्थित पाठकहरुले उपन्यासको फेसबुक पेज मा मेसेज गरेर लेखक स्वयमलाई सम्पर्क गर्न सक्नेछन् ।