१५ चैत्र २०८०, बिहीबार
Follow Us

केन्याको रात्रिक्लबबाट २१ नेपाली युवतीको उद्धार

नेपालब्रिटेन संवाददाता
५ श्रावण २०७५, शनिबार ०५:०८

काठमाडौं । मानव तस्करले अफ्रिकी मुलुक केन्या पु-याएका २१ नेपाली युवतीलाई प्रहरीले बिहीबार राति क्लबबाट उद्धार गरेको छ । उनीहरुलाई केन्यास्थित वेस्टल्यान्ड क्षेत्रका दुई रात्रिकालीन क्लबबाट उद्वार गरेको हो ।

केन्यास्थित मानव वेचबिखन प्रतिरोध तथा बाल रक्षा एकाई र अपराध एकाईको संयुक्त टोलीले मोगोसियो सडकमा रहेको दुई क्लबमा छापा मार्दा उनीहरुलाई उद्धार गरेका हुन् । ‘प्रहरीले नियमित छापा गर्ने क्रममा नेपाली युवतीलाई उद्वार गरेको हो’, केन्यास्थित अवैतानिक नेपाली दूत जिम्मी अस्कारले भने, ‘यो एउटा सामान्य छापा हो ।’

अपराध एकाईका अनुसार मुख्य अभियुक्तलाई समेत पक्राउ गरिएको छ । ‘२१ जना नेपाली युवतीलाई मानव तस्करी गरी शोषणको लागि केन्या ल्याइएको हो, ’प्रहरीको आफ्नो ट्वीटर ह्याण्डलमा भनेको छ, ‘उनीहरुलाई क्लबमा गैरकानुनी ढंगले काममा लगाइएको थियो ।’

प्रहरीले प्रक्राउ गरेको तीन अभियुक्तलाई मानव तस्करविरुद्ध ऐनबमोजिम कारबाही अगाडि बढाइएको जनाएको छ । मानव तस्करले मजुर नाँचको लागि अवैध रुपमा केन्या लैजाने गरेको छ । केन्याका डान्सबारमा नर्तकी र यौनकर्मीका रूपमा काम गर्ने युवतीको खोजी गर्दै केन्याली नागरिक नै काठमाडौं आउने गरेको छ ।