१३ बैशाख २०८१, बिहीबार
Follow Us

आफ्नै भनिएकाहरुबाट प्रधानमन्त्री ओलीलाई दबाब

नेपालब्रिटेन संवाददाता
५ श्रावण २०७५, शनिबार ०५:११

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनशनरत डा.गोविन्द केसीसँग नझुक्ने अडान लिए पनि उनकै पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र मन्त्रीपरिषदका सदस्यसमेत उनीमाथि लचकता अपनाउन दबाव परेको बुझिएको छ । यो सम्पूर्ण प्रसंगमा सार्वजनिकरुपमा मौन रहँदै आएका पार्टी अध्यक्ष पुष्पकमल दाहालले गोप्यरुपमा प्रधानमन्त्री ओलीलाई डा. केसीसँग वार्ता गरी तत्काल उचित समाधानमा पुग्न दवाव दिनुभएको बताइएको छ ।

दाहालले केसी पक्षसँग पनि गोप्य रुपमा कुराकानी गरी यो समस्या कुन सर्तमा समाधान हुन्छ भन्नेबारे छलफल गरेको बताइएको छ । हिजो दाहालकै आग्रहमा बालुवाटारमा प्रधानमन्त्री ओलीले दाहाल, तथा अरु केही शीर्ष नेताहरुसँग छलफल गर्नु भएको छ । तर प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले प्रधानमन्त्रीसहितको शीर्ष नेताहरुको छलफल डा. केसीको बारेमा भन्दा पनि सरकारी कामकारवाही लगायत समसामयिक विषयमा केन्द्रीत रहेको बताउनु भयो ।

यस्तै पार्टी भित्रै प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि लचकता अपनाउनु पर्ने पक्षमा उभिउनु भएको छ । तर, उनी निकट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले भने प्रधानमन्त्री ओलीको जस्तै अडान लिएर अव कुनै पनि हालतमा डा.केसीको माग अनुसार चिकित्सा शिक्षा अध्यादेश अनुसार विधेयक नआउने बताउँदै आउनु भएको छ ।