१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपाली टोलीले आज पहिलो अभ्यास खेल खेल्ने

नेपालब्रिटेन संवाददाता
५ श्रावण २०७५, शनिबार ०५:२९

काठमाडौं । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–ट्वान्टी र नेदरल्याण्डसँगको एकदिवसीय क्रिकेटका लागि युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । नेपालले आज इंग्ल्यान्डको स्थानीय क्लब ह्यामसायर हग्ससँग पहिलो अभ्यास खेल खेल्ने छ । स्थानीय समयअनुसार अपरान्ह हुने खेल ५० ओभरको हुनेछ । नेपाल र हग्सबीचको खेल साउथह्याम्पटनस्थित व्हिली टाउन रोडमा हुनेछ ।

यस्तै नेपालले दोस्रो अभ्यास खेल जुलाई २३ मा सेन्ट क्रससंग टी–ट्वान्टी खेल खेल्नेछ । यस्तै नेपालले जुलाई २५ मा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको खेल खेल्दा जुलाई २६ मा इष्ट लन्डन शार्कसंग टी–ट्वान्टी खेल खेल्नेछ ।

चार अभ्यास खेलपछि नेपालले क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लर्ड्समा जुलाई अन्तिम साता हुने त्रिकोणात्मक टी(ट्वान्टी सिरिज खेल्ने छ । नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बीच लर्ड्समा हुने त्रिकोणात्मक सिरिज जुलाई २९ मा हुनेछ ।

त्रिकोणात्मक सिरिजपछि नेपाली टोली एकदिवसीय क्रिकेटको डेब्यु खेल खेल्न नेदरल्याण्ड जानेछ । नेपालले एमस्ट्राडममा घरेलु टोलीसंग अगस्ट पहिलो साता ऐतिहासिक एकदिवसीय क्रिकेट सिरिज खेल्दैछ । नेपाल र नेदरल्याण्डबीचको एकदिवसीय सिरिज अगस्ट १ र ३ मा हुनेछ । युरोप भ्रमणको लागि १५ खेलाडीसहित १९ सदसीय नेपाली टोली बिहिबार नै लण्डन पुगिसकेको छ ।