७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रहरीको लाठी चार्जबाट तरुण अध्यक्ष बस्नेत घाइते

नेपालब्रिटेन संवाददाता
५ श्रावण २०७५, शनिबार १३:१५

काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीका मागप्रति एक्यवद्धता जनाउन नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलद्वारा आयोजना गरिएको विरोध प्रदर्शनमा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत घाइते भएका छन् । शनिबार दिउँसो माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरी दलका अध्यक्ष बस्नेत, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीलगायत दर्जनभन्दा बढीलाई घाइते बनाएको छ ।

प्रहरीले झुक्याएर प्रहार गरेको लाठीचार्जबाट बस्नेतको टाउको फुटेको छ भने शिवाकोटीलगायत पत्रकारमाथि प्रहरीले आक्रमण गर्दा आधा दर्जनलाई घाइते बनाएको छ । बस्नेत, शिवाकोटीलगायत चारजनाको सिभिल अस्पताल बानेश्वरमा अहिले उपचार भइरहेको जुलुसमा सहभागी एक नेताले भने ।

तरुण दलले बढ्दो महँगी, चिकित्सा शिक्षा विधेयक पहिलेकै सरकारले जारी गरेको अध्यादेशअनुसार ल्याउनुपर्नेलगायतका माग राखेर सरकारविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको थियो । प्रदर्शनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण, तरुण दलका पूर्वअध्यक्ष उदयशमशेर राणालगायत दर्जनौं नेता कार्यकर्ता सहभागी थिए ।

तरुण दलले माइतीघर–बानेश्वर सडकखण्डमा कोणसभा गर्न लागेपछि प्रहरीले अकस्मात तरुण दलका नेता कार्यकर्तामाथि आक्रमण गरेको थियो । प्रहरीले तरुण दलको भीड तितरवितर पार्न चार–पाँच राउन्ड अश्रुग्याससमेत प्रहार गरेको थियो ।