१३ बैशाख २०८१, बिहीबार
Follow Us

हाम्रो एकदशकको यात्रा (सम्पादकीय)

नेपालब्रिटेन डट कम्
६ श्रावण २०७५, आईतवार १३:४८

सूचना प्रविधिलाई गैरआवासीय नेपाली संघको अभियानसँग जोड्न हामीले एक दशकअघि यात्रा प्रारम्भ गरेका थियौं । एक दशकअघि डिजिटल पत्रिकाको माध्यमबाट नेपाल र नेपाली समाजको खबर संसारभर पु-याउँने जमर्को स्वरुप हामीले नेपाल ब्रिटेन डट कमको आरम्भ गरेका थियौं । विश्वभर छरिएका नेपालीलाई एकताको सूत्रमा बाँध्ने र गैरआवासीय नेपालीको अभियानलाई साथ दिनु हामीले कर्तव्य ठानेका थियौं । त्यही कर्तव्यलाई आत्मसात गरेर नेपाल ब्रिटेन डट कमको जन्म भएको थियो ।

हामीले गैरआवासीय नेपाली संघको अभियान र नेपाली समाजको तीता मीठा कुरालाई संसारभर छरिएर रहनुभएका नेपाली समुदायमा पु-याउने प्रयासको यात्राले एक दशक पूरा गरिसकेको छ । हामीले यसबाट कहिल्यै नाफा खोजेनौं, थोरै खर्चमा समय सापेक्ष र परिस्कृत सामाग्री प्रकाशित गर्न हाम्रो प्रयास रह्यो । यो सानो जमर्कोबाट प्राप्त उपलब्धि नेपाली समाजसँग सेयर गर्न दिनरात हामी लागिरहेयौं, लागिरहने छौं । हाम्रो यो यात्रा डगमगाउने छैन, निरन्तर जारी रहनेछ ।

हामीले विगत केही वर्ष अघिदेखि बेलायतमा बसेर नेपाली समाजमा योगदान पु¥याउने शीर्ष १० व्यक्तित्वलाई प्रत्येक वर्ष सम्मान गर्दै आएका छौं । गत वर्ष हामीले शीर्ष दस व्यक्तित्व घोषणा गरेर पनि प्राविधिक कारणले सम्मान कार्यक्रम आयोजना गर्न सकेनौं । उहाँहरुलाई पनि हामीले यसपटक सम्मान गरेका छौं ।

नेपाली समाजको भलाई र उन्नतिका लागि मात्र होइन, प्रवासमा नेपालीहरुले गरेको तरक्कीलाई संसारभर फैलाउने हाम्रो उद्देश्य हो । यो हाम्रो उद्देश्य एनआरएन अभियानबाट पे्ररित हो भन्न मलाई संकोच लाग्दैन । यो उद्देश्य पूर्तिका लागि एकजनाको बल बुताले भ्याउँदैन, धेरै साथीहरुको सरसहयोग चाहिन्छ । त्यो साथ र सहयोगको भोको नेपाल ब्रिटेन डट कम जहिले रहनेछ ।
पाठक र विज्ञापनदाता हाम्रा अमूल्य निधि हुन् । हाम्रो यो एक दशकको यात्रामा समाचार समाग्री उपब्ध गराएर, लेख रचना उपलब्ध गराएर, विज्ञापन उपलब्ध गराएर सहयोग पु¥याउने महानुभावहरुमा नेपाल ब्रिटेन डट कम जहिले आभारी रहनेछ ।