१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपाल ब्रिटेन डट कमको वार्षिकोत्सव भव्य (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
६ श्रावण २०७५, आईतवार १५:०४

लन्डन । नेपाल ब्रिटेन डट कमको वार्षिकोत्सव भव्यरुपमा सम्पन्न भयो । बेलायतबाट सञ्चालित अनलाइन प्रोटल नेपाल ब्रिटेन डट कम दस वर्ष पूरा गरी एघारौं वर्ष लागेको अवसरमा आयोजित कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीलगायत शीर्ष १० व्यक्तित्वलाई सम्मान गरियो ।
लन्डनको ह्यारो फुटबल क्लबमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सांसद डा. सूर्य पाठक र वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले संयुक्त रुपमा उद्धघाटन गर्नु भयो ।

प्रत्येक वर्षझै नेपाल ब्रिटेन डट कमले यस वर्ष पनि बेलायतमा बसेर मातृभूमिको सेवा गर्ने शीर्ष दस व्यक्तित्वलाई सम्मान ग-यो । शीर्ष १० व्यक्तित्व सम्मानलगायत आईएमइ समूहका हेमलार ढकाललाई उत्कृष्ट युवा उद्यमी सम्मानले सम्मानित गरिएको थियो ।

शीर्ष १० व्यक्तित्व सम्मानित हुनेहरुमध्ये पहिलो नम्बरमा डा. पदम सिम्खडा पर्नुभएको छ । बेलायतमा लामो समयदेखि प्राध्यापनमा संलग्न सिम्खडा जोन मोर युनिभर्सिटीेमा एसोसिएट डिनको महत्वपूर्ण जिम्मेवारी सम्माल्नु भएको थियो ।
धादिङ जिल्लादेखि बेलायतसम्मको अध्ययन यात्रामा सम्भवतः नेपाली प्रोफेसर विदेशी विश्वविद्यालयमा एसोसिएट डिन हुने सिम्खडा पहिलो व्यक्ति हुन । सिम्खडा युनिभर्सिटीमा उच्च शिक्षा लिइरहेका नेपालीहरुको लागि प्रेरणाका श्रोत हुन् ।
यस्तै दोस्रो नम्बरमा टोल खाम्चा पर्नुभएको छ । स्याङजा शिरकोट करादीमा जन्मिएका ५० वर्षीय टोल खाम्चा मगर बेलायती सेनाको छैटौं वरियताको लेफिटनेन्ट कर्णेल पदमा पुग्ने सफल नेपाली हुनुहुन्छ । उहाँ बेलायती सेनाको उच्च अधिकृतमा पुग्ने सौभाग्य पाएका गोरखा सैनिक हुन् । गोरखा भर्तीको २०० वर्षको अवधिमा सो पदमा अहिलेसम्म खाम्चासहित चारजना नेपालीले मात्र पुग्ने अवसर पाएका छन् । त्यसमध्ये खाम्चा एक अधिकृत हुन् । सो पदमा सेवारत भने उनी एकमात्र गोरखा हुन् ।
यस्तै तेस्रो नम्बरमा कृष्णकुमार राई पर्नुभएको छ । गोर्खालाई नै बेलायतले अन्याय गरेपछि गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले २०४६ सालयता निरन्तर आन्दोलन र अभियान चलाइरहेका छन् । गोर्खाहरुको आफ्नै पहल र अगुवाईमा नेपालको सडकबाट सुरु भएको आन्दोलन बेलायतको सडक, सदन र अदालतसम्म पुग्यो । यी उपलब्धीहरु हासिल गर्ने धेरै नायकमध्ये राई पनि एक हुनुहुन्छ ।
चौथो नम्बरमा ज्ञाम गुरुङ पर्नुभएको छ । बेलायतमा सेवा पदक, महारानीको गोल्डेन जुब्ली पदक, युएनको शान्ति पदक, बोजनिया पदक र अन्य थुप्रै सम्मान पुरस्कार र पदकहरुबाट सन्य जीवनमा सम्मानित हुनु भएका गुरुङ २००९ मा तमुधि केन्द्रमा सचिवको जिम्मेवारी, महासचिव, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष र हाल गरिमामय अध्यक्षको पद सम्हाल्ने ज्ञाम गुरुङ तमुधिको इतिहासमा कम उमेरका बहुप्रतिभाशाली र चर्चित अध्यक्षको रुपमा परिचित हुनुहुन्छ ।
पाँचौं नम्बरमा दिपक श्रेष्ठ हुनुहुन्छ । बेलायतको नेपाली समुदायमा क्रियाशील समाजसेवी र सफल व्यवसायीका रुपमा चिनिनु हुन्छ श्रेष्ठ । बुद्ध फाउन्डेसन यूकेका अध्यक्ष श्रेष्ठले विभिन्न सामाजिक संघसंस्थाको नेतृत्वदायी भुमिकामा रहेर एक इमान्दार, कर्तव्यनिष्ठ र जुझारु सामाजिक अभियन्ताको परिचय बनाउन सफल हुनुहुन्छ ।

छैटौं नम्बरमा मीनबहादुर गुरुङ हुनुहुन्छ । गुरुङ खेलकुद क्षेत्रमा सक्रिय हुनुहुन्छ । सेनाभित्र रहदाँ पनि उहाँको रुचि खेलप्रति घटेन, खेल्दै जानुभयो । अहिले उहाँ फुटबलसँग भूपू गोरखाको सम्बन्ध सेतु बन्नु भएको छ । बेलायतमै गोरखा वेलफेयर सोसाइटी, तमुधि यूके, एनआरएन यूकेलगायतका संस्थामा आबद्ध गुरुङ बेलायतको साहारा यूकेका अध्यक्षसमेत हुनुहुन्छ ।
यस्तै सातौं नम्बरमा कमलराज खनाल हुनुहुन्छ । खनाल अहिले बेलायतमा सकृय सामाजिक सेवामा लाग्नुभएको छ । भूतपूर्व गोरखा, एकल महिला तथा विविध रूपले कमजोर व्यक्तिलाई प्रत्येक साता ३–४ घन्टा अंग्रेजी भाषा, सहयोग, खानाको व्यवस्था, योग र मेडिटेसनका माध्यमबाट मानसिक तनावलाई कम गर्न खनालले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । समाज र राज्य परिवर्तन तबमात्र सम्भव र सही बाटोमा हुन्छ, जब व्यक्तिले आफूबाट सही र निस्वार्थ कामको थालनी गरेको हुन्छ भन्ने मान्याता खनालको छ ।
आठौं नम्बरमा कृष्ण ढकाल हुनुहुन्छ । वेष्टवर्मिचमा रहेको शान्ति नेपाल समाजका अध्यक्ष ढकालले आफ्नो पेशाबाहेक अरु समय नेपाली समाजमा खर्चिनुहुन्छ । उनी गैरआवासीय नेपाली संघ यूकेका सल्लाहकार, सिन्धुपाल्चोकको जुरे पहिरोले पुरिएको स्कुल निर्माण, भुकम्प आउँदा संस्थाले ३५ लाख रुपैयाँको आपतकालीन कोषको स्थापना गरेको थियो । हाल शान्ति नेपाली समाज वर्मिघमको अध्यक्ष सम्हालिरहनु भएको छ ।
नवौं नम्बरमा जीव बेल्बासे हुनुहुन्छ । बेल्बासे गे्रटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष हुनुहुन्छ । गैरआवासीय नेपाली संघ (एनआरएन) संस्थापनकालदेखि सक्रिय बेल्बासेले बिगतमा एनआरएन अभियानमा महत्वपूर्ण योगदान दिनुभएको छ ।

गैरआवासीय नेपाली संघ यूकेका पूर्वप्रवक्ता रहनुभएका बेलबासे नेपालमा भइरहने प्राकृतिक प्रकोपका बेला सक्रिय भइ योगदान दिदै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।
दसौं स्थानमा जसिता गुरुङ हुनुहुन्छ । गुरुङ साउथ ह्याम्टन सोलेन्ट युर्निभरसिटीमा स्नातक गर्दै हुनुहुन्छ । गुरुङ अहिले ह्यर एण्ड मेक डिजाइनको कोर्ष गर्दै हुन्छन् । विचेस्टरस्थित पिटर सिमेन्स कलेजमा अध्ययनर हुदै गर्दा सपन इनन्टरटेन्टमेन्टद्वारा आयोजित डान्स अफ युके प्रतियोगितमा बिजेता भएपछि बेलायती समाजमा एकाएक चर्चामा आउनुभएको हो ।