४ बैशाख २०८१, मंगलवार
Follow Us

आज हरिशयनी एकादशी

नेपालब्रिटेन संवाददाता
७ श्रावण २०७५, सोमबार ०५:४५

काठमाडौं । आज हरिशयनी एकादशी । आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको बिरुवा रोप्दैछन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ ।

प्रत्येक हिन्दू समुदायका घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गेगर्ने शास्त्रीय परम्परा रहेको छ ।

हरिबोधनी एकादशीका दिन भगवान् विष्णु जाग्नु हुने शास्त्रीय मान्यता छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ ।

चतुर्माससमेत भनिने चार महिनाको अवधिमा व्रत बस्ने भक्तजनले साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएर उम्रने गेडागुडी खानु नहुने शास्त्रीय नियम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

यस अवधिमा पर्ने आठवटा एकादशीमा भगवान् विष्णुको विशेष उपासना गरी एकादशी महात्म्यको पाठ पारायण गरिन्छ । चतुर्मासमा वृहस्पति र शुक्र अस्त भएपनि व्रत गर्नुपर्ने शास्त्रीय वचन रहेको उहाँले जानकारी दिनुभयो ।

आज काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत मुलुकभर रहेका विष्णु मन्दिरमा पनि पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लाग्छ ।

आजैदेखि विभिन्न धार्मिकस्थल, सत्तल तथा पाटीमा चार महिनासम्म चतुर्मास पुराण पनि प्रारम्भ गरिन्छ । वर्षका २४ एकादशीमध्ये आषाढ शुक्ल र कार्तिक शुक्ल एकादशीलाई ठूलो एकादशीका रुपमा लिइन्छ ।