१६ चैत्र २०८०, शुक्रबार
Follow Us

डा. केसीसँग प्रधानमन्त्री ओलीले आफैं वार्ता गर्ने

नेपालब्रिटेन संवाददाता
७ श्रावण २०७५, सोमबार ०५:५०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनशनरत डा. गोविन्द केसीसँग सीधै वार्ता गर्ने भएका छन् । वार्ता टोली फेरिने तर समस्याको समाधान कहिल्यै नहुने भन्दै प्रधानमन्त्री ओलीले सोझै डा. केसीसँग वार्ता गरेर समस्या समाधान गर्ने भन्दै सन्देश पठाएका छन् । केसीले भने जबाफ दिइसकेका छैनन् । ‘पटकपटक वार्ता र सहमति हुने तर कार्यान्वयन नहुने अवस्था आएकाले प्रधानमन्त्रीले ‘वान टू वान’ वार्ता गर्न चाहनुभएको हो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘अनशन छाडेर स्वस्थ हुनुहोस् अनि वार्ता गरौं भन्ने प्रधानमन्त्रीको भनाइ छ, त्यो सन्देश पठाइ सकिएको छ ।’

उनका अनुसार डा. केसीको स्वास्थ्यलाई ध्यानमा दिँदै अनशन छाडेर वार्तामा आउन प्रधानमन्त्रीका तर्फबाट सो प्रस्ताव गएको हो । शिक्षासचिव खगराज बरालको नेतृत्वमा बनेको वार्ताटोलीसँग केसीले वार्ता गर्न अस्वीकार गरेर मन्त्रीस्तरीय प्रतिनिधित्व हुनुपर्ने माग गरेपछि प्रधानमन्त्री ओली आफैं वार्ता गर्न अग्रसर भएका हुन् ।

सरकारले डा. केसीका तर्फबाट आधिकारिक वार्ता टोली खोजेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले नागरिकसँग भने, ‘डा. केसीको म्यान्डेट प्राप्त आधिकारिक वार्ता टोली को हो त ? सरकारले अझै पनि चिन्न सकेको अवस्था छैन, जो पायो त्यहीसँग वार्ता गर्ने कुरा त हुन्न नि ?’ प्रधानमन्त्री कार्यालयका अनुसार डा. केसीका तर्फबाट आउने वार्ता टोलीको औपचारिक नाम पठाउन आग्रह गरिएको छ ।

डा. केसीको आन्दोलनको पक्षमा उभिएका भनिएका डा. केसी, नागरिक समाजको अगुवा, विवेकशील साझा पार्टी, नयाँ शक्ति नेपाल पार्टी वा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमध्ये कोसँग वार्ता गर्नुपर्ने हो ? त्यसको जवाफ सरकारले खोजेको अर्यालको भनाइ छ ।

यसअघि शिक्षासचिव खगराज बराल नेतृत्वको तीनसदस्सीय सरकारी टोलीले डा. केसीका तर्फबाट जीवन क्षेत्री, अभिषेक सिंह, सुरेन्द्र भण्डारी र ओमप्रकाश अर्यालसँग दुईपटक वार्ता गरेको थियो । वार्ताले निष्कर्ष निकाल्न नसकेपछि डा. केसीले मन्त्रीस्तरीय वार्ता हुनुपर्ने सर्त राखेका थिए । बरालले शनिबार विज्ञप्ति जारी गरेर वार्तामा आउन आह्वान गरे पनि केसी पक्षले अस्वीकार गरेको थियो ।