८ बैशाख २०८१, शनिबार
Follow Us

डा. केसीलार्इ वार्ताको आमन्त्रण

sarusaru
८ श्रावण २०७५, मंगलवार ०५:०६

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई वार्तामा आउन आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले सरकार संवादमार्फत समस्या समाधानका लागि तयार रहेको भन्दै चिकित्सा शिक्षा सुधारबारे तर्कपूर्ण बहसमा आउन पनि डा. केसीलाई अनुरोध गरे।

‘म डा. केसीलाई भन्न चाहन्छु- स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो सुधार गर्न सकिन्छ ? तर्कपूर्ण बहस गरौं’, प्रधानमन्त्रीले ओलीले भने, ‘तपार्इं नै जिम्मा लिनुहोस्, के के गर्नुपर्छ ? आयोग चाहिन्छ भन्नुहुन्छ ? तपार्इं नै अध्यक्ष भएर गर्नुहोस्। सरकार तपाईंलाई नै जिम्मा लगाउन तयार छ, आउनुहोस्।’

पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४०औं स्मृतिमा नेकपाले काठमाडौंमा आयोजना गरेको सभामा बोल्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले डा. केसीको अनशनमा कांग्रेसले राजनीति गर्न खोजेका कारण संवाद हुन नसकेको आरोप लगाए।

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. केसी अनशन बसेयता औपचारिक मुख नखोलेका प्रधानमन्त्री ओली तथा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले सोमबार एउटै मञ्चबाट पालैपालो केसीलाई वार्तामा आउन आग्रह गर्दै प्रतिपक्षी कांग्रेसप्रति आक्रामक अभिव्यक्ति दिएका हुन्।

प्रधानमन्त्री ओलीले अनशन बस्न डा. केसी आफै तयार भएका हुन् वा अरुले उकासेर बसेका हुन् भन्दै प्रश्न समेत गरेका थिए। ‘अनशन बस्ने डा. केसी, अनशन कायम राख्ने अरु, बिमारी हुने डा. केसी, उपचार हुन नदिने अरु देखिएका छन्,’ प्रधानमन्त्रीले भने, ‘मानव अधिकारभित्रको परिभाषामा अनशन पर्दैन। अनशन आफैलाई समेत प्रताडना दिने काम हो। तर यहाँ अरुको जीवनमाथी खेलवाड गर्ने गरी अनशनको राजनीति भएको छ, राजनीतिक स्वार्थका लागि यसो गर्न मिल्छ ? ’

डा. केसीको जीवनरक्षा सरकारको दायित्वभित्रै पर्ने भन्दै प्रधानमन्त्री ओलीले सरकारले संवादमाफर्त समाधान खोजे पनि केसी समस्या खडा गर्न मात्रै अनशन बसेको जिकिर गरे। ‘सरकारले वार्ता टोली गठन गर्दा वार्ता नै गर्दिन भन्नुहुन्छ, समाधान खोज्नभन्दा समस्या खडा गर्न अनशन बसेको देखिंदै छ’, प्रधानमन्त्रीले भने।

केसीको जीवनमाथि कतिपय मान्छेले राजनीतिक स्वार्थको रोटी सेकेर खेल्न खोजेकाले सचेत हुन प्रधानमन्त्रीले डा. केसीलाई सुझाव समेत दिए। स्वास्थ्य संस्थामा बन्द÷हड्ताल गर्ने कुरा गैरकानुनी भएको जिकिर गर्दै प्रधानमन्त्रीले राज्यको सेवा सुविधा लिएर अस्पतालमा जनतालाई उपचारबाट वञ्चित गर्ने र हुलहुज्जत गर्ने काम कसैले गर्न नपाउने बताए।

सत्याग्रहीका नाममा भइरहेको आन्दोलनभित्र पाखुरा र मुड्की बजार्नेहरू सहभागी रहेको भन्दै प्रधानमन्त्री ओलीले आक्रोश व्यक्त गरे। ‘के मुद्दा, के मामिला, के विषय भन्ने नै छैन। सहभागिताले नै थाहा हुन्छ- अनौठा किसिमका मान्छे सहभागी भइरहेका छन्, फुर्सद भएकाहरू आएका छन्,’ प्रधानमन्त्रीले प्रश्न गरे, ‘कतिपय मान्छेले सत्याग्रह भनेको सुन्छु, सत्याग्रह यसरी पाखुरा बजारेर, मुड्की हानेर हुन्छ ? कस्तो सत्याग्रह हो यो ? स्वास्थ्य परीक्षण गर्न दिंदैनौं, रगत जाँच्न, रक्तचाप र अक्सिजन लेबल जाँच्न दिन्नौं भन्ने कस्तो सत्याग्रह ? ’

डा. केसीको अनशनको समर्थनमा लागेका बौद्धिकहरुप्रति पनि प्रधानमन्त्रीले कटाक्ष गरे। ‘केही महान् बुद्धिजीवीहरू देखेर दया लाग्छ, कठैबरी यति साह्रो बुद्धि कहाँ लगेर कतिमा बन्धक राखेको ? ’ प्रधानमन्त्रीले भने।

कांग्रेससँग पनि वार्ता गर्छौं

प्रधानमन्त्री ओलीले प्रतिपक्षी कांग्रेससँग पनि सरकार वार्ताको लागि तयार रहेको बताएका छन्। चिकित्सा शिक्षा विधेयकमा अझै छलफल गरी संशोधनको समय रहँदारहँदै कांग्रेसले जिद्दी र अहंकार देखाएको उनले आरोप लगाए।

‘प्रतिपक्षसँग कुरा गर्दैनौं भनेका होइनौं, गर्छैां। विधेयक पास गरेको छैन, आउनुहोस् बहस गरौं, देशको हितको पक्षमा के-के सच्चाउनुपर्छ, हामी तयार छौं’, उनले भने, ‘सच्चाउन, संशोधन गर्न सकिन्छ। यो जिद्दी र अहंकार किन ? ’

उनले मुलुक थितिमा मात्र चल्ने भन्दै कसैले भन्दैमा सरकार थिति र विधिभन्दा बाहिर नजाने प्रष्टाए। प्रतिपक्षी कांग्रेसतिर लक्षित गर्दै उनले भने, ‘हामीले एउटा प्रणाली बनायौं, कानुन ल्यायौं, संसद बनायौं, के यो देखाउने सो-पिस मात्र हो ? लोकतन्त्रमा कानुनसम्मत मात्र चल्छ।’

कांग्रेसले केसीलाई जुम्लाबाट काठमाडौं ल्याउँदा पनि तमासा देखाएको र अहिले उपचार गराउन नदिइरहेको प्रधानमन्त्रीको भनाइ थियो। कांग्रेसले ल्याएको लोकतन्त्रमा आफूहरू झमेला गर्न नआएको भन्दै प्रधानमन्त्रीले लोकतन्त्रका लागि आफूहरूले कांग्रेसको भन्दा बढी नै बलिदान, योगदान गरेको समेत दाबी गरे।

पूर्वप्रधानन्यायधीश सुशीला कार्की डा. केसीको अनशनको समर्थनमा सडकमा उत्रेको र उनले गरेको भाषणप्रति पनि प्रधानमन्त्रीले टिप्पणी गरे।

उनले भने, ‘सर्वाेच्चको टुप्पोमा बसिसकेको मान्छे निषेधित क्षेत्र तोड्न आउने ? भाषण पनि गर्ने ? त्यो प्रधानमन्त्री सात-आठ क्लास पढेको छैन, के बुभ्mने भन्नुभएछ। मसँग सर्टिफिकेट हेर्न आउनु त भएको थिएन, तैपनि देख्नु भएछ।’

कांग्रेस केसीको मागमा वैतरणी तर्न खोज्दैछः दाहाल

पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले एजेन्डाविहीन बनेको कांग्रेसले केसीको ‘सदावहार माग’मा वैतरणी तरेर राजनीति गर्न खोजेको टिप्पणी गरेका छन्।

सोही कार्यक्रममा दाहाल कांग्रेसप्रति ओलीभन्दा आक्रामक रूपमा प्रस्तुत भएका थिए। कांग्रेसप्रति संकेत गर्दै उनले केसीको जीवनरक्षा भन्दा उनको हत्या गरेर लासको राजनीति गर्नेहरू सक्रिय रहेको आरोप लगाए।

‘केसीको जीवनरक्षा गर्ने दायित्व सरकारको हो, तर उहाँको जीवनरक्षाका लागि अर्काे पक्ष सकारात्मक छैन’, दाहालले भने, ‘तथाकथित लोकतन्त्रवादी भन्नेहरू सायद उहाँको हत्या गर्न चाहन्छ र लासको राजनीति गर्न चाहेको हो कि भन्ने देखिएको छ।’

दाहालले डा. केसीको अनशन नेपाली समाजले पचाइसकेको पनि तर्क गरे। ‘गोविन्द केसी नेपालमा पहिलो अनशन बसेको होइन, १५ पटक बसिसक्ुनभएको छ। लोकतान्त्रिक भन्ने सरकारका बेला सबैभन्दा बढी अनशन बस्नुभएको छ, त्यतिबेला उहाँहरूले के हेरेर बस्नु भएको थियो ? ’, दाहालले भने, ‘केसी अनशन बस्नुहुन्छ, यो नेपाली समाजले पचाइसकेको छ। गोविन्द केसीको काम नै अनशन बस्ने हो, उहाँ बसिरहनु हुन्छ।’

डा. केसीको पुच्छर समातेर कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्र हरण गर्न खोजेको आरोप पनि दाहालले लगाए।

दाहालले प्रश्न गरे, ‘कांग्रेस आफ्नो राजनीति गोविन्द केसीमार्फत गर्नुपर्ने अवस्थामा पुगिसकेको हो ? कांग्रेस यति निम्छरो ? यति कमजोर ? यति एजेन्डाविहीन र अलोकतान्त्रिक भइसकेको हो ? ’

कांग्रेससँग कुनै एजेन्डा नभएकाले डा. केसीका माग लिएर ऊ तोडफोडमा उत्रन खोजेको उनले जिकिर गरे। दाहालले कांग्रेसलाई सिधै राजनीतिमा आउन चेतावनी दिँदै भने, ‘सिधै राजनीति गरौं, बिचरा डा. केसीको वैतरणी तरेर किन राजनीति गर्ने ? ’

उनले आफूहरू केसीसँग वार्ता गर्न लचिलो रहेको र उनको जीवनरक्षाप्रति संवेदनशील भएको पनि बताए।
अन्नपूर्ण पोष्ट