१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रमुख समाचार मुग्लिन सडकमा तत्काल डाइभर्सन नबनाइने, एक महिनामा १७ ठाउँमा पहिरो

sarusaru
८ श्रावण २०७५, मंगलवार ०७:५४

भरतपुर । नारायणगढ मुग्लिन सडकखण्डमा सडक र पुल नै भासिए पनि त्यस क्षेत्रमा तत्काल डाइभर्सन नबनाइने भएकोे छ । वर्षाका कारण पहाड काट्दा पहिरोको जोखिम बढी हुने भएकाले आयोजनाले जोखिम नउठाएको हो ।
‘हिउँद नलागी यो वर्षादमा केही गर्न सकिँदैन’, नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार विसुरालले भने, ‘पुल तथा सडक भासिएको ठाउँमा अहिले एकतर्फी सवारी साधन सञ्चालन गरिएको छ ।’
उनले भने, ‘अहिले पनि सडकभन्दा माथिको भागबाट छहराजसरी पानी झरिरहेको छ, यस्तो बेला पहाडको चट्टान काट्न लागियो भने पहिरोको जोखिम बढी हुन्छ ।’
नारायणगढ मुग्लिन सडकको सडक विस्तारको काम नसकिँदै १७ किलो र भतेरी ओरालोमा सडक नै भासिएको र मुग्लिननजिकै पर्ने खहरे खोला पुल पनि सडक छेउबाट भासिएको छ ।
सडक भासिएसँगै भूगर्भविद् अच्यूत कोइरालाको नेतृत्वमा आएको विज्ञहरूको टोलीले सडकको स्थलगत निरीक्षण गर्दै पुरिएको माटोमाथि सडक विस्तार र तलबाट त्रिशूली नदीको कटान भएकै कारण सडक भासिएको जनाउँदै नयाँ ठाउँमा डाइभर्सन बनाएर सडक सञ्चालन गर्नुपर्ने सुझाव दिएको थियो । तर, आयोजनाले भने वर्षादको सिजनमा पहाड काटेर डाइभर्सन बनाउन नसकिने जनाएसँगै यो सडकमा यात्रा गर्ने यात्रुले हैरानी व्यहोर्नुपर्ने भएको छ ।
‘डाईभसन नभई सडक ‘वान वे’ हुँदा दैनिक टूाफिक जामको समस्या छ । अझै माथिबाट पहिरो खस्यो भने त झनै खतरा छ’, जिल्ला टूाफिक प्रहरी कार्यालय चितवनका प्रमुख टूाफिक प्रहरी निरीक्षक वेदप्रसाद गौतमले भने, ‘सडक जति सक्यो छिटो मर्मत सुधार गर्न सक्ने हो भने यात्रुले सहज यात्रा गर्न सक्नेछन् ।’
बिहीबारमात्रै १७ किलोमा सडक भासिदा ५ घण्टा सडक अवरुद्ध भएको थियो । पछिल्लो समय यो क्रम जारी रहेको छ । जिल्ला टूाफिक प्रहरी कार्यालय चितवनको तथ्यांकअनुसार गत जेठ २८ गतेयता विभिन्न मितिमा १७ स्थानमा पहिरो खस्दा ७६ घण्टा १० मिनेट सडक अवरूद्ध भएको छ । खुलेकै बेला पनि पहिरो खसेको क्षेत्रमा ‘वान वे’ हुँदा यात्रुले हैरानी व्यहोर्नुपर्ने अवस्था छ ।
नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ रहेको १७ किलोमा ३० मिटर लम्बाइ र सात मिटर चौडाइमा सडक भासिएर चिरिएको छ । यो मात्रा बढेर अझै ७० मिटर लम्बाइ र ८ मिटर चौडाइसम्म पुग्ने विज्ञहरुको अनुमान छ । यससँगै भतेरी ओरालोमा सडक छेउको प्याराफिट भासिने अवस्थामा छ । यो दुवैको मर्मत सुधार हुन सकेको छैन ।
सडकमा रहेका १८ वटा पुल सबै जीर्ण रहे पनि आयोजनाले मर्मत सुधार गर्न सकेको छैन । ‘अठारमध्ये ४ वटाको पुनर्निर्माणको काम सुरू भइसकेको छ अरू बाँकीका लागि बजेटको व्यवस्था भइनसकेको उनले बताए ।
सन् २०१५ को अप्रिलमा सम्झौता भई सो सडक विस्तारको काम अन्तिम चरणमा पुगेका बेला सडक भासिने र पुल भासिने समस्याले चुनौती थपेको छ । यसका साथै सडक माथिबाट ३१ स्थानमा पहिराकोे जोखिम देखिएको छ ।
कन्टेनर चलाउन रोक ः आयोजना
नारायणगढ(मुग्लिन सडक आयोजनाले स्थानीय प्रशासनलाई पत्र लेखेर यो सडकमा कन्टेनर चलाउन रोक लगाएको छ । सो सडकको क्षमता साढे दुई मिटर चौडाइका सवारीसाधनमात्रै चल्न मिल्ने भए पनि अहिले ३.६ मिटर चौडाइसम्मका कन्टेनरहरू चल्दा सडकमा समस्या भएको आयोजनाले जनाएको छ ।
‘लामा कन्टेनरहरूले साँघुरा पुल पार गर्दा मोड नपुगेर पुलका रेलिङहरू भाँचिरहेका छन्, यस्ता सवारीसाधनले टूाफिक समस्या पनि बढी निम्त्याएका छन्’, आयोजना प्रमुख विसुरालले भने ।
आयोजनाको अनुरोधमा टूाफिक प्रहरीले साउन १ गतेदेखि बिहान ४ बजेबाट बेलुकी ७ बजेसम्म कन्टेनरहरू सञ्चालनमा रोक लगाएको हो ।