१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मेरो कुराले आम मानिसलाई चोट पुगेपछि राजीनामा दिने सोच बनाएँ ; कानूनमन्त्री तामाङ

sarusaru
८ श्रावण २०७५, मंगलवार ०८:२१

काठमाडौं –कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफूले राजीनामा दिने तयारी गरेको बताएका छन् ।

दिउँसो २ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गर्न लागेको उनका सहयोगीहरूले बताए ।

‘मैले बोलेको कुराले आम मानिसलाई चोट परेका कारण राजीनामा दिन लागेको हुँ,’ मन्त्री तामाङले लोकान्तरसँग भने, ‘प्रतिष्ठाभन्दा ठूलो पद होइन ।’

उनले पार्टीको निर्देशन या दबाब भन्दापनि स्वैच्छाले राजीनामा दिन लागेको बताए ।

यसअघि नेकपाले मन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएको समाचार प्रकाशमा आएको थियो ।

बंगलादेशमा एमबीबीएस पढ्ने छात्रामाथि शोषण हुने गरेको अभिव्यक्तिका कारण उनी विवादमा तानिएका थिए ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री तामाङले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो ।

के भनेका तामाङले थिए ?

‘… युएस बांगला एयर दुर्घटनामा हुँदा २१ जना डाक्टरहरू यही हाम्रो विमानस्थलमा बिते, कति मार्मिक छ कुरा । आज म कथा खोल्छु, बंगलादेशमा कयौं चेलीहरू हाम्रा छोरीहरू डाक्टर पढ्न जानुहुछ भने डाक्टरको सर्टिफिकेट लिनका लागि मैले सुनेको छु– उसले कहीँ न कहीँ आफूलाई बेच्नै पर्छ । मैले सुनेको छु यति मार्मिक छ कथा । उनीहरुले खोलेका छन् कथा । हामी हाम्रा छोरीलाई विदेश पढ्न पठाउँछौ, तर उसले आफूलाई नसुम्पिकन सर्टिफिकेट प्राप्त गरिरहेको अवस्था छैन । त्यसैले सबैले यो मुलुकमा एमबीबीएस पढ्न पाउनुपर्छ भन्दा हामी प्लेकार्ड बोकेर निक्कन्छौ, पाइँदैन, हुँदैन भनेर ।’