१३ बैशाख २०८१, बिहीबार
Follow Us

पाकिस्तानमा आज निर्वाचन

sarusaru
९ श्रावण २०७५, बुधबार ०४:४३

काठमाडौं । पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ । १० करोड ६० लाख मतदाता रहेको चुनावमा ८४९ सिटको लागि ११ हजार ८५५ उम्मेदवारबीच प्रतिष्पर्धा भइरहेको छ । त्यहाँको निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभाको २७२ सिटको लागि ३४५९ जना भिड्दैछन् भने ४ वटा प्रान्तीय सभाहरुको ५७७ सिटको लागि ८३९६ उम्मेदवारहरु खडा भएका छन् ।

जम्मा ३४२ सदस्य रहने पाकिस्तानको राष्ट्रिय सभामा ६० सिट महिला र १० सिट धार्मिक अल्पसंख्यकको लागि आरक्षित छन् । यो चुनावमा त्यहाँ प्रमुख दलका शीर्ष नेताहरुले समेत अलग अलग प्रान्तका विभिन्न सिटहरुबाट उम्मेद्वारी दिएका छन् ।

पाकिस्तानी मुस्लिम लिग–नवाबका सभापति सहवाज सरिफ ४ स्थानबाट प्रतिष्पर्धामा छन् भने यसपटकको चुनावमा अपेक्षाकृत राम्रो नतिजा हात पर्ने अनुमान गरिएको दल तरिक–ए–इन्साफका प्रमुख तथा पूर्वक्रिकेटर इमरान खानले ५ स्थानमा मनोनयन गरेका छन् । पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जर्दारी भने ३ क्षेत्रबाट चुनाव लड्दैछन् ।

अतिवादको चिन्ता

पाकिस्तानी चुनावको नतिजा कस्तो आउला भन्ने अनुमान अहिले नै लगाउन गाह्रो छ । अहिले यतिमात्र भन्न सकिन्छ कि त्यहाँको राजनीतिक परिदृश्य विभाजित, अन्यौलग्रस्त र अनुमान गर्न नसकिने खालको छ ।

तर, पाकिस्तानमा बहुमतविहीन, कमजोर र गठबन्धनको सरकार बनाउने संसद गठन गर्ने सम्भावना धेरै छ । यसो हुँदा आगामी सरकार कमजोर बन्ने र त्यसले क्षेत्रीय तथा अन्तराष्ट्रिय राजनीतिमा समेत बलियो र प्रभावकारी भूमिका निर्वाह गर्न नसक्ने चिन्ता गरिँदैछ ।

गठबन्धन सरकार बन्दा विशेषगरी पाकिस्तानी सरकारले उसको बैदेशिक नीतिका सम्बन्धमा बनाउने धारणाहरुमा समस्या पर्ने हुनसक्छ । यदि गठबन्धनको सरकार बन्यो भने कतिपय धार्मिक कट्टरपन्थीहरूको समेत सरकारमा सहभागिता हुनसक्ने देखिन्छ ।

यस्तो भएमा फेरि पाकिस्तानमा धार्मिक अतिवाद हावी हुनसक्ने चिन्ता पनि व्यक्त भइरहेको छ । यो आशंका बलियो हुनुको कारण यो हो कि चुनावमा प्रत्यासीका रुपमा देखिएका उमेदवारहरुको सूचीमा धेरै त्यस्ता नामहरु छन्, जो पाकिस्तानमा बैधानिकता प्राप्त गर्न नसकेका धार्मिक संगठनका सक्रिय सदस्यहरु हुन् । उनीहरु कतिपय स्वतन्त्र त कोहि अन्य दलबाट चुनाव लडेकाछन् ।

परिणामको पूर्वानुमान

सन् २०१३ मा पाकिस्तान मुस्लिम लिग–नवाफले राष्ट्रिय सभामा बहुमत पाएको थियो । तर, गतवर्ष त्यहाँको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाफ सरिफलाई भ्रष्टाचारको अभियोगसहित आजन्म प्रधानमन्त्री बन्न नपाउने गरी पदबाट बर्खास्त गर्यो ।

उनीसंगै सो दलका धेरै नेताहरु पनि राजनीतिबाट पर जानु पर्ने भएपछि पूर्वक्रिकेटर इमरान खानको दल पाकिस्तान तारिक–ए–इन्साफको लागि मैदान खाली भयो । पाकिस्तानको प्रमुख प्रतिपक्षी तारिक–ए– इन्साफप्रति त्यहाको जनसंख्याको ६५ प्रतिशत हिस्सा ओगटेको युवापंतिको बिषेश आकर्षण छ । त्यसबाहेक खानले आफ्नो नैतिकवान छवी बनाएका छन् । उनलाई नयाँ अनुहारका इमान्दार नेताका रुपमा स्वीकार्न धेरैलाई गाह्रो छैन । फेरि पाकिस्तानी राजनीतिमा बलियो प्रभाव राख्ने त्यहाँको सेनाले समेत पत्याएको नेता कारुपमा उनलाई चिन्ने गरिन्छ ।

सबै सूचकहरुले उनकै नेतृत्वमा अन्य साना दलहरुसहित अबको सरकार बन्ने गरि चुनावी नतिजा आउने अनुमान गरिएको हो ।

खानको पक्षमा वातावरण किन पनि बन्ने देखिन्छ भने उनको चिन्ताको प्रदेश पन्जाब हो, जहाँबाट सबैभन्दा धेरै सांसद केन्द्रिय संसदमा जान्छन । अनि त्यहीं मुस्लिम लिगको विगत देखिको पकड रहेकोमा यो पटक अति कमजोर बनेको छ ।

सिन्धमा पनि पाकिस्तान पिपुल्स पार्टी यसपटक कमजोर देखिएको छ ।

सम्भावना र चुनौती

पाकिस्तानको चुनावी सरगर्मीले केही सम्भावना र चुनौतीलाई एकैसाथ उजागर गरेको छ । कतिपयले यो निर्वाचनपछि पाकिस्तान नयाँ युगमा प्रवेश गर्ने विश्वास गरेका छन् भने धेरैले पाकिस्तानको राजनीतिमा फेरि पनि सेना नै हावी हुने त होइन भनेर आशंका गरिरहेका छन् ।

सबैभन्दा अनौठो पक्ष त यो छ कि यदि इमरान खानले पाकिस्तानलाई नेतृत्व गर्न पाए भने नयाँ युग र परिवेश सुहाउँदो गतिमा मुलुकलाई हाक्नेछन् भन्नेहरु नै उनीप्रति सेनाको लगावबाट सशंकित पनि छन् । निर्वाचन आयोगले पत्र लेखेर सेनालाई मतदान केन्द्रको सुरक्षाको जिम्मा दिएपछि यस्तो आशंकामा थप मदत पुगेको देखिन्छ ।

त्यसो त निर्वाचन आयोगले सुरक्षा निकायका लागि पनि कडा आचार संहिता निर्माण गरेको छ । आतंकवादको चपेटामा दशकौंदेखि पिल्सिएको मुलुकमा चुनावी सुरक्षाको लागि सेनालाई परिचालन गर्नुलाई त्यति अस्वाभाविक भनिहाल्न पनि मिल्दैन ।

पाकिस्तानको चुनाव भाँड्ने प्रयत्न भएको पनि देअियो । यसै महिनामा भएका केही आतंकवादी हमलाहरु इस्लामिक आतंकवादीको नाममा अन्य निकायहरुले नै घटाएको विश्लेषण पाकिस्तानी सुरक्षा निकायहरुले गरेका छन् । पाकिस्तानी तालिवान र इस्लामिक स्टेट जस्ता संगठनहरुले बिष्फोटको जिम्मेवारी लिए तर, खेल अर्कै रहेकोमा विश्वास गर्न सकिन्छ ।

उसो त कतिपयले अब पाकिस्तानी चुनावलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिनबाट रोक्ने प्रयास हुनसक्ने आंकलन पनि गरेका छन् ।

कूटनीतिको कहर

अब बन्ने पाकिस्तानी सरकारको लागि अस्तव्यस्त बैदेशिक सम्बन्धलाई सम्हाल्नु पर्ने चुनौती छ । क्षेत्रीय रुपमा भारतसँग प्रतिष्पर्धा गर्न सक्ने छिमेक नीति अवलम्बन गर्नुपर्ने हुन्छ भने अमेरिका र चीनसंगको सम्बन्धलाई पनि राष्ट्र हितमा प्रयोग गर्न सक्ने बनाउनु पर्ने हुन्छ । अहिले पाकिस्तानको भारतसँग मात्र होइन अमेरिकासंग पनि कटुतापूर्ण सम्बन्ध छ ।

एकतिर अफगानिस्तानमा जारी संघर्ष पाकिस्तानको टाउको दुखाई हो भने त्यतातिरको समस्या हल गर्ने नाममा अमेरिका र भारतले दिने दुःखको कथा पनि बेग्लै छ । यस्तोमा कास्मिर समस्याको दीर्घकालीन हल खोज्न भारतसँग गर्नुपर्ने सम्वाद र अर्कोतर्फ अफगानिस्तानसँग जोडिएको अमेरिकी स्वार्थलाई साथ दिनुपर्ने बाध्यतामा नयाँ सरकार फस्छ ।

चीनसँग मिलेर विकास गरेको आर्थिक करिडोर अमेरिका र भारत दुबैको निशानामा पर्ने खतराबाट जोगिएर चीनसँग अझ बलियो साइनो जोड्नु पनि अबको सरकारको निर्विकल्प कदम हुनुपर्ने देखिन्छ ।

हाल २८.६ बिलियन डलरको लागतमा २२ वटा प्रोजेक्टहरु चीनले पाकिस्तानमा निर्माण गरिरहेको छ । आफ्नो ठुलो लगानीको कारण चीनले पाकिस्तानको चुनावलाई नजिकबाट नियालिरहेको छ । विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको मुलुकको चासोलाई सम्बोधन गर्नसक्ने सरकार बनेमा भने यो निर्वाचन पाकिस्तानको इतिहासमा कोसेढुङ्गो बन्नसक्छ ।
अनलाइन खबर