१५ चैत्र २०८०, बिहीबार
Follow Us

सरकार–केसी पक्षबीच वार्ता, सम्भवतः आजै अनसन तोडिने !

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०७५, बुधबार ०५:०९

काठमाडौं । सरकारी वार्ता टोली र अनसनरत डा गोविन्द केसीको वर्ता टोलीबीचको वार्ता सकारात्मक भएको छ । डा केसीले उठाएका मागमध्ये अधिकांश बुँदामा सहमति भए पनि केही बुँदामा अझै सहमति जुट्न बाँकी छ । बाँकी विषयमा बुधबार पुनः छलफल गरेर सहमति जुटाउनेगरी मंगलबार शिक्षा मन्त्रालयमा भएको वार्ता सकारातमक देखिएको हो । योसँगै डा केसीको अनसन आज बुधबार नै तोडिनसक्ने सम्भावना रहेको वार्तामा बसेका एक सदस्यले जनाएका छन् ।

चिकित्सा शिक्षा विधेयकका अधिकांश बुँदामा सहमति जुटे पनि मुख्य बुँदामा भने अझै सहमति हुन नसकेपछि बुधबार थप छलफल गरेर सहमतिमा पुग्ने बताइएको छ ।

दुई पक्षबीचको छलफलमा विधेयकबाट हटाइएका प्रमुख विषयहरु काठमाडौं उपत्यकामा १० वर्ष नयाँ मेडिकल नखोल्ने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धनका लागि ३ सय शय्याको अस्पताल कम्तीमा ३ वर्षसम्म सञ्चालन भएको हुनुपर्ने, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत सिट निःशुल्क हुनुपर्ने लगायतका विषयमा छलफल भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीले जानकारी दिए ।