१२ बैशाख २०८१, बुधबार
Follow Us

रानीपोखरी पुननिर्माणको जिम्मा नेपाली सेनालाई

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०७५, बुधबार ०५:१५

काठमाडौं । ३ वर्ष अघिको भूकम्पमा क्षतिग्रस्त भएर निर्जन बनेको रानीपोखरी पुनर्निर्माणको जिम्मा नेपाली सेना दिने तयारी गरिएको छ । हिजो उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी, काठमाडौँ महानगरपालिका मेयर विद्या सुन्दर शाक्य, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र नेपाली सेनाका प्रतिनिधि बिच विवादित बनेको रानिपोखरी पुनर्निर्माणको जिम्मा सेनालाई दिने विषयमा समझदारी भएको हो ।

संस्कृति मन्त्री अधिकारीको पहलमा भएको छलफलमा काठमाडौँ महानगरपालिका मेयर शाक्य रानीपोखरी पुनर्निर्माणको जिम्मा सेनालाई दिने विषयमा सकारात्मक बन्नु भएको बताइएको छ । काठमाडौँ महानगरपालिकाको पैसा र पुरातत्व विभागको डिजाईनमा नेपाली सेनाले रानीपोखरी निर्माण गर्दा समयमै निर्माण सम्पन्न हुने सरकारी अपेक्षा छ ।

यस्तै, रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भने पूरातत्व विभाग आफैले बनाईरहेको छ । २०७५ असारमै निर्माण सम्पन्न गर्ने लक्ष्य राखे पनि हाल सम्म मन्दिर निर्माण सकिएको छैन । पुरातत्व विभागका महानिर्देशक दाहालले आगामी तिहारमा मन्दिरको पुनर्निर्माण सम्पन्न हुने बताउनु भएको छ ।