७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालको उर्जा प्रयोग नाइजेरिया र सुडानजस्तै

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०७५, बुधबार १०:४२

काठमाडौं । उर्जा प्रयोगमा अति कमविकसित मुलुक दक्षिण सुडान तथा नाइजेरियाकै अवस्थामा नेपाल तथा बंगलादेश पनि रहेको उर्जा अनुसन्धानकर्ताहरुले बताएका छन् । राजधानी काठमाडौमा आयोजित उर्जा अनुसन्धानकर्ता, उर्जाविद् तथा अभियानकताहरुको समीक्षा बैठकका क्रममा यस्तो भनाई आएको हो ।

‘दुर्गम तथा सीमान्त मानबबस्तीमा मात्र होइन, संघीय राजधानी काठमाडौ र वरीपरीका कतीपय बस्तीमा पनि उर्जाको बहुआयामिक प्रयोग हुन सकेको छैन ।’ चलायमान उर्जाका सम्बन्धमा अनुसन्धान गरीरहनुभएका अनुसन्धानकर्ता नवराज लामाले बताए ।

लामाका अनुसार नेपालमा खाना पकाउने इन्धनका रुपमा आयातित एलपी ग्यासको प्रयोग हुने गरेता पनि घरकै छतमा प्रकृतिले निशुल्क दिएको सौर्य उर्जाको प्रयोग हुन सकेको छैन ।

‘इनर्जी अन दी मूभ’ नामक अनुसन्धानमा सम्लग्न संयुक्त अधिराज्य स्थित दुराम बिश्वबिद्यालयमा प्राध्यापन गर्नु हुने अनुसन्धानको टिमलिडर डा बेन क्याम्पबेले नेपालमा मात्र होइन, बिश्वव्यापी रुपमा नै नवीकरणीय उर्जाको राम्रो संभावना भएपनि यसको सहज प्रयोग हुन नसकेको बताए ।
नवीकरणीय ऊर्जाका मुख्य स्रोतहरुमा सौर्य ऊर्जा,जैविक ऊर्जाका विभिन्न स्रोतहरु, वायोग्यास, वायु ऊर्जा आदि रहेका छन ।

गरिबीको चपेटामा परेका ग्रामीण तथा सीमान्त नागरिकको पहुँचमा नविकरणीय उर्जा नपुगी उनीहरुको जीवनस्तरमा सुधार हुन नसक्ने अर्का अनुसन्धानकर्ता समृद्धि खरेलको धारणा थियो । उनले भनिन् ‘भौगोलिक जटिलता, उच्च लागत र जनचेतनाको अभावले बहुसंख्यक नागरिक अझैपनि परम्परागत उर्जामा निर्भर छन्, उर्जा प्रयोग गर्नेहरु पनि आयातित उर्जामा भर परेका छन् ।’

दुराम बिश्वबिद्यालयकै अर्का अनुसन्धानकर्ता रहैना फरदुशले नागरिकको नियमित आयको कमी तथा बिभिन्न प्रकारका द्धन्द्धका कारण बंगलादेशमा उर्जा प्रयोग र उत्पादनमा प्रभाव परेको बताइन् ।

नाइजेरियाको फातिमा आदामूले नाइजेरियामा गरीबिका कारण नवीकरणीय उर्जा प्रयोग हुन नसकेको बताइन् । यसरी नै दक्षिण सुडानमा बिद्युतीय सन्जाल अझै बन्न नसकेको बताए । उर्जा संभावनाका दृष्टिकोणले प्रसस्त विकल्प भए पनि आन्तरिक राजनीतिक द्धन्द्धका कारण फड्को मार्न नसकेको बताए ।