१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सरकार र डा. केसी पक्षबीचको वार्ता भंग

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०७५, बुधबार १४:४७

काठमाडौं । सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता एकाएक असफल भएको छ । मंगलबार साँझ भएको वार्ता सकारात्मक भनिएपनि बुधबार दिउँसो शिक्षा मन्त्रालय भएको वार्तामा गतिरोध आएको हो । चिकित्सा शिक्षा विधेयकमा संशोधन गर्न सरकारी पक्षले नमानेपछि वार्ता भंग भएको हो ।

डा. केसी पक्षले आफूहरु डा. केसीको ‘बटमलाइन’बाट पछि हटेर अत्यधिक लचकता देखाएपनि चिकित्सा शिक्षा विधेयकका संशोधन गर्नुपर्ने बुँदाहरुमाथि सरकारी पक्षले छलफल नै गर्न नचाहेको बताएको छ । मंगलबार साँझ सरकारी वार्ता टोलीले चिकित्सा शिक्षा विधेयकका संशोधन गर्नुपर्ने बुँदाहरु मागेपछि केसी पक्षले २२ बुँदा अघि सारेको थियो ।

तर, बुधबारको वार्तामा सरकारी पक्ष ती २२ बुँदामा प्रवेश नै गर्न नचाहेको डा. केसी वार्ता टोलीका संयोजक डा. अभिषेकराज सिंह र सदस्य अधिवक्ता सुरेन्द्र भण्डारीले बताए । डा. केसी पक्षले सरकारले राजनीतिक नैतिकता गुमाइसकेको र डा. केसीप्रति सरकार संवेदनशील नभएको आरोप लगाएको छ ।

डा केसी आफ्नो बटमलाइनबाट पछि हटेर चिकित्सा शिक्षा विधेयकमा संशोधन गरी अघि बढ्न तयार भएपनि सरकारले वार्ताका नाममा अल्मल्याउन खोजेको उनीहरुको भनाइ रहेको छ । सरकारी वार्ता टोलीका संयोजक खगराज बरालले भने चिकित्सा शिक्षा विधेयक संसदीय प्रणालीअनुसार नै अघि बढ्ने भन्दै आफूहरुले संसदको कार्यक्षेत्र नाघ्न नसक्ने बताए ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेकपाका शीर्ष नेताहरुबीच विभिन्न चरणमा छलफल भएपछि दुई पक्षबीच वार्ता सुरु भएको थियो । तर, सरकारी पक्षले वार्ताको दोस्रो दिन नै ‘युटर्न’ गर्नुलाई रहस्यमयरुपमा हेरिएको छ ।