१५ चैत्र २०८०, बिहीबार
Follow Us

अनसनको श्रृङ्खलालाई अन्तिम बनाऔं : गगन थापा

नेपालब्रिटेन संवाददाता
११ श्रावण २०७५, शुक्रबार १४:५५

काठमाडौं । नेपाली काँग्रेसका सांसद गगन थापाले डा. केसीसँग सरकारले ९ बुँदे सम्झौता गरेसँगै तोडिएको अनसनलाई नै अन्तिम बनाउन सरकार र संसदलाई आग्रह गरेका छन् । शुक्रबार संसदमा बोल्दै थापाले डा. केसीसँग सहमति गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् । एउटै व्यक्ति एउटै विषयका लागि पटक-पटक अनसन बस्नु सबैका लागि लज्जाको विषय भएको उनले बताए ।

थापाले भने, ‘हामी सम्झौता गर्छौं तर, पालना गरिरहेका छैनौं । त्यसैले यो पटक अनसनको श्रृङ्खलालाई अन्तिम बनाऔं । आज जे कुरा सरकारको तर्फबाट संसदमा पेश गरिएको छ, संसदको सम्पत्ति भएको छ । हामी सरकार र संसदमाथि विश्वास गर्छौं ।’

त्यस्तै उनले चिकित्सा शिक्षा विधेयकमा दर्ता गराएको विरोधको सुचना पनि फिर्ता लिएका छन् । विरोधको सुचना फिर्ता लिदै उनले यो विषयमा ‘नेपाली कांग्रेस नउठेको भए डा गोविन्द केसी सुतेको सुत्यै’ हुने बताएका छन् । कांग्रेस जागेकाले नै सरकारले चिकित्सा शिक्षा विधेयक संशोधन गर्न तयार भएको उनको भनाई छ।