१४ बैशाख २०८१, शुक्रबार
Follow Us

देउवा मसँगभन्दा माओवादी केन्द्रसँग नजिक : पौडेल

नेपालब्रिटेन डट कम्
२५ भाद्र २०७३, शनिबार ०५:३६

लमजुङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको पुनर्संरचनामा दलहरु गम्भीर नबनेको गुनासो गरेका छन् । बीपी कोइरालाको १०२औं जन्मजयन्तीको अवसरमा लमजुङको बेसीसहरमा आयोजित एक कार्यक्रममा उनले स्थानीय तह पुनर्संरचनालाई दलहरुले ख्यालठट्टाको रुपमा लिएको आरोप लगाए ।
जिल्लाहरु कायम राखेरै स्थानीय तह पुनर्संरचना गर्नुपर्ने आफ्नो आग्रहलाई नेपाली कांग्रेसलेसमेत बेवास्ता गरेको उनको भनाइ थियो । पौडेलले पुनर्संरचना आयोगले प्रस्ताव गरेको ५६५ गाउँपालिका कायम गर्दा भावी सन्ततीप्रति धोका हुने दाबी गरे ।
पौडेलले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अघि बढेको भन्दै देउवाले कांग्रेसको सभापति बनिरहने हैसियत गुमाउँदै गएको जिकिर पनि गरे । देउवा आफूहरुसँगभन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालहरुसँग नजिकिन खोजेको आरोप पनि पौडेलले लगाए ।
नेपाली काँग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य गोविन्द भट्टराई, कल्याण गुरुङ, काँग्रेस लमजुङका पूर्वसभापति सांसद चन्द्रबहादुर कुँवर, पूर्वसभापति तारानाथ कोइराला, शङ्करकान्त जोशी, तुलसीनारायण श्रेष्ठ, कृष्णप्रसाद कोइराला र कोषाध्यक्ष श्रीकान्त घिमिरे लगायतले बिपीको विचार आत्मसात् गर्न आग्रह गर्नुभएको थियो ।