१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपालको हवाई सेवा अन्तर्राष्ट्रिय स्तरको बन्दै

sarusaru
१३ श्रावण २०७५, आईतवार ०३:१२

काठमाडौं : नेपालको हवाई सेवालाई विश्व स्तरको बनाउने लक्ष्यका साथ नेपाल वायु सेवा निगमले सुरक्षात्मक प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने भएको छ ।

दुईवटा वाइड बडी जहाज खरिद गरेपछि सुरक्षा प्रणाली तथा ग्राउण्ड ह्याण्डलिङको कामलाई समेत थप प्रभावकारी बनाउँदै निगमले सुरक्षात्मक प्रणालीलाई लागू गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आइएटिए) लाई आमन्त्रण गरेर सुरक्षात्मक प्रणालीका बारेमा अध्ययन गराएको हो ।

निगमको आग्रहमा आइएटिएको प्राविधिक समूहले शुक्रबारमात्रै यससम्बन्धी अध्ययन सकेको हो । नेपालको वायु सेवालाई केही विदेशी संस्थाले खतराको सूचीमा राखेको र केही संस्थाले हटाइसकेको सन्दर्भमा नेपाली हवाई क्षेत्रलाई थप विश्वसनीय, भरपर्दो, सुरक्षित बनाउने लक्ष्यका साथ अध्ययन गरिएको हो ।

वाइड बडी जहाज खरिद गरी अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने र आर्थिक समृद्धिको आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई थप व्यवस्थित बनाउँदै उल्लेख्य मात्रामा पर्यटक भित्र्याउन मार्ग प्रशस्त हुनेछ । निगमले आन्तरिक र बाह्य दुवै बजारलाई केन्द्रमा राखेको छ ।

सुरक्षात्मक प्रणाली तथा हवाई सुरक्षालाई समेत केन्द्रमा राखेको छ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङको कामसमेत निगमले नै गरिरहेको छ । दक्षिण एसियामै नेपालको ग्राउण्ड ह्यान्डलिङलाई उत्कृष्ट मानिन्छ ।

निगमका महाप्रबन्धक सुगतरत्न कसांकारले हवाई सेवा गुणस्तरको एउटा मापदण्डका रुपमा रहेको आइएटिएको गुणस्तर मापदण्डको रुपमा सेफ्टी अडिट अफ ग्राउण्ड ह्यान्डलिङ–आइसागो प्रमाण पत्रलाई लिइन्छ ।

नेपालले यसअघि सन् २०१६ मा पनि निगमले उत्कृष्ट ग्राउण्ड ह्यान्डलिङ गरेको भन्दै आइएटिएले प्रमाण पत्र दिएको थियो । यूरोपेली संघले खतराको सूचीमा राखेको नेपालको उड्डयान क्षेत्रलाई त्यस्तो सूचीबाट हटाउनसमेत आइसागो प्रमाण पत्रले काम गर्नेछ भने आइएटिएको सदस्य बन्ने मार्गसमेत प्रशस्त हुनेछ ।

आइएटिएको सदस्य भएपछि नेपालले आर्थिक सहयोग, तालिम, हवाई मार्ग प्राप्त गर्न समेत थप सहज हुनेछ । हाल विश्वका तीन सय नौवटा विमानस्थलमा आइसागोको मापदण्ड लागू गरिएको छ । विश्वभर हालसम्म १७ हजार अन्तर्राष्ट्रिय विमानस्थल छन् ।

निगमका प्राविधिक सल्लाहकार रमेशबहादुर शाहका अनुसार, मापदण्ड लागू भएका तीन सय नौ विमानस्थलमध्ये एक सय ८० विमानस्थलले निगमजस्तै ग्राउण्ड ह्यान्डलिङ सेवा उपलब्ध गराउँदै आएका छन् । हरेक दुई वर्षमा आइएटिएले ग्राउण्ड ह्यान्डलिङको ‘अडिट’ गर्दछ । सन् २०१४ मा गरिएको अडिटका आधारमा नेपालले आइसागोको प्रमाणपत्र पाएको थियो ।

शाहका अनुसार आइएटिएले गरेको अध्ययनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगमले पुर्‍याउने सेवाको अवस्था ९८ प्रतिशत पूरा गरेको पाइएको छ । अध्ययन टोली शतप्रतिशत गुणस्तरको मापदण्ड पुर्‍याउनका लागि आगामी छ महिनाको समय दिएको छ ।
रासस