८ बैशाख २०८१, शनिबार
Follow Us

बालिका हत्या प्रकरण : पीडित पक्ष शव बुझ्न सहमत

sarusaru
१३ श्रावण २०७५, आईतवार ०४:५८

कञ्चनपुर – बलात्कारपछि हत्या गरेर उखुबारीमा फालिदिएको १३ वर्षीय बालिका निर्मला पन्तका परिवार शव बुझ्न सहमत भएका छन् । शनिबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पीडित पक्ष र प्रहरी प्रशासनबीच सहमति भएपछि शव बुझ्ने भएको हो । भीमदत्त नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेले पीडित पक्षले अघि सारेका माग स्थानीय सरकार र प्रशासनले पूरा गर्ने प्रतिबद्धता जाहेर गरेपछि शव बुझ्ने भएको हो ।

प्रवक्ता पाण्डेका अनुसार निर्मलाको हत्यारा पत्ता लगाई यथाशिघ्र सार्वजनिक गर्ने, घटना स्थल वरपर प्रहरी गस्ती र प्रहरी बिट स्थापनाका लागि प्रशासनले पहल गर्ने, पीडित परिवारलाई न्याय दिलाउने र राहतका लागि नियम संगत ढङगबाट पहल गर्ने सहमती भएको हो । त्रिपक्षीय सहमती भए पनि पीडितका आफन्त र आन्दोलनमा उत्रेका स्थानीयले सहमती मान्य नहुने बताएका छन् ।

उक्त सहमती लिखित नभएकाले सहमती मान्य नहुने स्थानीय पदम भट्टले बताए । उनका अनुसार स्थानीय सरकार र प्रहरी प्रशासनबाट सहमती लिखित माग गरेको थियो । पीडित परिवारलाई क्षतिपूर्ती स्वरुप १५ लाख माग भए पनि सम्बोधन नहुँदा आन्दोलन नरोकिने चेतावनी दिएका छन् । उता पीडित परिवारले भने शव आइतबार दाहसंस्कार गर्ने तयारी गरेका छन् । पीडितका आफन्त लक्ष्मी दत्त पन्तले शव दाहसंस्कार गरेपछि दोषीलाई कार्बाहीका लागि दवावमूलक कार्यक्रम गर्ने बताए ।

पीडितको सम्झनामा चिल्ड्रेन पार्क

भीमदत्त नगरपालिका, २ का मृतक बालिका निर्मलाको सम्झनामा चिल्डे«न पार्क निर्माण गर्ने भएको बताए । त्रिपक्षीय वार्तामा भीनपा, २ का वडाअध्यक्ष डम्मर सिंह कार्कीले मृतक निर्मलाको नाममा सरस्वती माध्यामिक विद्यालयमा चिल्डे«न पार्क बनाइदिने प्रतिबद्धता जाहेर गरेका छन् । ‘हाम्रो वडाबाट मृतक छात्राको सम्झानामा एक पार्क बनाउँछौँ, ‘उनले भने, ‘यसमा पीडित पक्ष पनि सहमत भएका छन् ।’

विद्यार्थी संगठनद्वारा आन्दोलन घोषणा

भीमदत्त नगरपालिका, २ उल्टाखामकी निवासी एवं सरस्वती माध्यामिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्रा निर्मलाको बलात्कारपछि कञ्चनपुरका विद्यार्थी संगठनले तीन दिने आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । शनिबार महेन्द्रनगरमा विभिन्न ६ विद्यार्थी संगठनको बैठकबाट तीन दिने आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको हो ।

अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव किशोरप्रसाद भट्टले छात्रामाथि भएको जघन्य बलात्कार र क्रुर हत्याको विरोधमा अखिल क्रान्तिकारी, नेवि संघ, अनेरास्वियु, विप्लव÷वैद्य क्रान्तिकारी र अखिल छैटौँले आन्दोलनको घोषणा गरेको हो ।

क्रान्तिकारीका सचिव भट्टका अनुसार ६ वटै विद्यार्थी संगठनले आइतबार विरोध सभा गर्दै प्रशासनमा ज्ञापन पत्र बुझाउने, सोमबार दुई घण्टा जिल्ला प्रशासन कार्यालय घेरा गर्ने र मंगलबार शैक्षिक हडताल गर्ने घोषणा गरिएको छ ।

घटनाको विरोधमा निर्मला अध्ययनरत सरस्वती माध्यामिक विद्यालय, अखिल नेपाल महिला संघ क्रान्तिकारी, नेपाल महिला संघ, युथ भ्वाइस महेन्द्रनगरले घटनाको घोर भत्र्सना गर्दै दोषी उपर कारबाहीको माग गरेका छन् । हत्यारालाई कारबाहीको माग राख्दै महेन्द्रनगरमा शनिबार पनि प्रर्दशन भएको थियो ।

घटनाप्रति नगरको ध्यानाकर्षण

भीमदत्त नगर कार्यपालिकाले बालिका मृत अवस्थामा भेटिएको घट्नाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै छानबिन गरी संलग्नलाई कानुनी कारबाही गर्न माग गरेको छ । भीमदत्त नगर कार्यपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले विज्ञप्ति निकाल्दै १३ वर्षीया बालिकाको शव भेटिएको घट्नाले नगरपालिका कार्यालय स्तब्ध भएको उल्लेख गरेको हो ।

विज्ञप्तिमा प्रवक्ता पाण्डेयले मृतक पन्तप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरेका छन् । नगर कार्यपालिकाले घट्नाको छानबिन गरी संलग्नलाई कानुनी कारबाही गर्नसमेत अनुरोध गरेका छन् । भीनपाका प्रवक्ता एवम् वडा नं. १८ का अध्यक्ष पाण्डेय र वडा नं. २ का अध्यक्ष डम्मर कार्की डिके दुवैले घट्नास्थलका बारेमा जानकारी लिएका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ । कञ्चनपुर प्रहरीले घटनामा शंकास्पद पाँच जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । कञ्चनपुरका प्रहरी प्रमुख दिल्लीराज विष्टले तीन युवकसहित दुई युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताए ।
नयाँ पत्रिका