८ बैशाख २०८१, शनिबार
Follow Us

डा. केसी चिकित्सक होइनन्, हत्यारा हुन् : सांसद चौधरी

नेपालब्रिटेन संवाददाता
१३ श्रावण २०७५, आईतवार १३:३८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद गंगा चौधरी सत्गौवाले डा. गोविन्द केसीलाई हत्याराको आरोप लगाएकी छन् । आइतबार चिकित्सा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद चौधरीले डा. गोविन्द केसीको अनसनका कारण धेरै मान्छेले ज्यान गुमाएको भन्दै उनलाई कारवाही गर्न माग गरेकी हुन् ।

उनले डा. केसीको अनसले गर्दा दाङकै गोविन्द चौधरीको मृत्यु भएको उदाहरण पेश गरिन् । भनिन् ‘टिचिङले भर्ना नलिँदा उनको मृत्यु भयो । यसको जिम्मा कसले लिन्छ ? काङग्रेसले लिन्छ कि गोविन्द केसीले ? त्यसकारण गोविन्द केसी हत्यारा हुन् उनलाई कारवाही गर्ने कि नगर्ने ?’

उनले बोल्दै गर्दा कांग्रेसले नियमापत्ती जनाएको भएपनि सभामुख कृष्णबहादुर महराले नियमापत्ति राख्ने सांसदलाई बोल्न दिएनन् । उनले चौधरीलाई नै अगाडि बोल्न दिएका थिए । चौधरीले १० वर्षसम्म मेडिकल कलेज नखोल्दा अधोगतिको बाटो हुने भन्दै केसीकोविरुद्धमा बोलेकी थिइन् । ‘गोविन्द केसी हत्यारा हुन्,’ उनले भनिन्, ‘यसको जिम्मा कांग्रेसले लिने हो कि, गोविन्द केसीले लिने हुन्।’

‘चिकित्सा शिक्षा विधेयक ल्याउन ढिलो भयो, फेरि पनि विधेयकका विषयलाई लिएर आँखामा छारो हाल्ने काम भयो । १० बर्षसम्म डेण्टल मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने भयो भने गरिबका छोराछोरीले के गर्ने ?,’ उनले प्रश्न गरिन् ।