१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गैरआवासीय नेपालीलाई नागरिकता कार्यान्वयन हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

नेपालब्रिटेन संवाददाता
१३ श्रावण २०७५, आईतवार १३:५१

लग्जेम्बर्ग । परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले गैर आवासीय नेपालीलाई नागरिकता कार्यान्वय गरिने बताएका छन् । आइतबार लग्जेम्बर्गमा सुरु भएको गैरआवासीय नेपाली संघको ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ औँ युरोपीय क्षेत्रीय महिला बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले गैरआवसीय नेपालीहरुको पहिचान र भूमिकालाई संविधानले नै प्रत्याभुति गरेकाले त्यसलाई कटौती नगर्ने बताएका हुन् । ‘निकै लामो छलफल पश्चात गैर आवासीय नेपालीलाई नागरिकता सम्बन्धी व्यवस्था गरिएको हो,’उनले भने, ‘यो कट्यौती हुन्छ कि, अफ्ठेरो पर्छ कि भन्ने आशंका नगर्नुस् ।’

कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले गैर आवासीय नेपालीलाई राजनीतिक अधिकार पनि दिनुपर्ने आफ्नो धारणा भएको बताए। नेपाल विकास र समृद्धिको भोकले तड्पिरहेको उनले बताए। ‘समृद्धि शब्द गायत्री मन्त्र जस्तो बनेको छ,’उनले भने, ‘हामीले खोजेको उड्ने गतिको समृद्धि हो।’

कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछाने संविधानमा उल्लेख भएको गैर आवासीय नेपालीको नागरिकता कार्यान्वयनमा ल्याउन माग गरेका थिए।

युरोपीय एनआरएनको प्रतिवद्धताः नेपालमा पर्यटक, ज्ञान सीप र लगानी भन्ने मुल नाराका साथ बैठकको उद्घाटन ज्ञवालीसहित आयोजक राष्ट्र लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइश, संघका अध्यक्ष भवन भट्ट, युरोप संयोजक शिव वरुवालले संयुक्तरुपमा गरेका थिए।