७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई राजीनामा दिन नेकपाको दबाब

नेपालब्रिटेन संवाददाता
१४ श्रावण २०७५, सोमबार ०५:३८

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई राजीनामा दिएर घर फर्किन दबाब परेको छ । संसदीय सुनुवाइका क्रममा गएको बिहीबार जोशीले चित्तबुझ्दो जवाफ नदिएको र शैक्षिक प्रमाणपत्र विवादमा परेपछि सत्तारुढ नेकपाले जोशीलाई राजीनामा दिन भनेको हो ।

प्रस्तावित प्रधानन्यायाधीशमा दीपकराज जोशीको संसदीय सुनुवाई प्रक्रिया लम्बिँदै गएका बेला सुनुवाइ समितिबाट अस्वीकृत हुने आशंका बढेको छ । जोशीलाई राजीनामा दिएर ‘सेफ ल्याण्डिङ’ गर्न सुझाव दिइएको नेकपाका नेताहरुले बताएका छन् ।

शैक्षिक प्रमाणपत्रबारे संसदीय सुनुवाइ समितिले छानबिन गरेर अस्वीकृत गर्नुभन्दा राजीनामा दिएर सहज बाटो पहिल्याउन आग्रह गरिएको बताईएको छ ।

दुईवटा विद्यालयबाट एसएलसी दिए पनि सिम्बोल नम्बर एउटै भएको, ठूला करसम्बन्धी आदेश, सार्वजनिक जग्गासम्बन्धी फैसाललगायत विषयमा जोशीले सुनुवाइ समितिमा चित्तबुझ्दो जवाफ नदिएको र धेरै प्रश्नलाई बेवास्ता गरेको आरोप लागेको छ ।

गएको बिहीबार जोशीको सुनुवाइ भए पनि संसदीय सुनुवाइ समितिको बैठक पटकपटक सर्दा कुनै निर्णय हुन सकेको छैन । शुक्रबार बस्दै नबसी हिजोसम्मका लागि स्थगित भएको समितिको बैठक आज दिउँसोसम्मका लागि स्थगित गरिएको छ । समितिको बैठक दिउँसो २ बजे बोलाइएको संसद सचिवालयले जनाएको छ ।