१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रस्तावित प्रधानन्यायाधीशलाई अलमल्याउनु बार्गेनिङ हो : कांग्रेस

नेपालब्रिटेन संवाददाता
१४ श्रावण २०७५, सोमबार ०९:२६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले प्रधानन्यायाधीशका लागि सिफारिस भई संसदीय सुनुवाइ समेत भइसकेका दीपकराज जोशीको नाम अनुमोदन गर्न ढिलाई गर्नुमा सरकारको हात रहेको आरोप लगाउँदै जोशीको नाम अनुमोदन गर्नु पर्ने धारणा व्यक्त गरेको छ ।

जोशीको संसदीय सुनुवाइ गत बिहीबार भएको थियो । शुक्रबार अनुमोदन सम्बन्धी निर्णय हुने भनिए पनि बैठक नै नबसी स्थगित भएको थियो । आइतबार पुनः बैठक बोलाइए पनि अन्तिम समयमा स्थगित गरिएको थियो । लगातार स्थगित गर्दै जानुले उनको अनुमोदनमा शंका उब्जेको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लामो समय अदालती अनुभव भएका व्यक्तिलाई पार्टी निकटको आरोप लगाएकोमा आपत्ति जनाए । पौडेलले भने– ‘यो देशमा सबै नेकपा मात्रै छन् ?’ सत्तारुढ दलका अनुसार नेपालमा कम्युनिस्ट मात्रै भएर बाँच्नुपर्ने हो ? भन्दै नेकपालाई प्रश्न गरे ।

व्यक्तिलाई आरोप लगाउने कम्युनिस्टको चरित्र भएको उनले टिप्पणी गरे । जिन्दगीभर न्याय सेवामा रहेर प्रधानन्यायाधीशको लाइनमा पुगेको व्यक्तिलाई पार्टीको आरोप लगाउन नमिल्ने उनले बताए ।

कांग्रेसका अर्का नेता मीन विश्वकर्माले नेकपाको सरकारले आफैं सिफारिस गरेको व्यक्तिलाई कुनै विषयमा स्वार्थ नमिलेपछि अलमल्याइरहेको बताए। ‘सरकारले सिफारिस गर्‍यो, आफैं पछाडि हटेको छ’, उनले भने, ‘प्रस्तावित प्रधानन्यायाधीशलाई अलमल्याउनु उनीहरुको मोलतोल तथा बार्गेनिङ हो ।’ सरकारको वर्तमान गतिविधिले केहीगरी प्रधानन्यायाधीशमा जोशी अनुमोदन भए पनि सहज रुपमा कार्य गर्ने वातावरण नहुने उनले आशंका गरे ।