१५ चैत्र २०८०, बिहीबार
Follow Us

सरकारलाई समर्थन यथावत्ः नेता महतो

नेपालब्रिटेन संवाददाता
१४ श्रावण २०७५, सोमबार १४:५७

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान सरकारबाट संविधान संशोधन गर्ने विश्वास रहेकाले समर्थन फिर्ता नलिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले संविधान संशोधनका लागि सरकारले पहल गर्नेमा आशावादी रहेकाले अहिले पर्ख र हेरको अवस्थामा रहेको बताउनुभयो ।

नेता महतोले राजपा सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको उल्लेख गर्दै पार्टीको महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन गरिने छ भन्नुभयो ।

“सरकारसँग दुई तिहाइ छ, हाम्रो माग र सवाल पूरा गराउन दबाब दिन्छौँ, केही दिनअघि हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मागका बारेमा पुनःस्मरण गराएका छौँ, मुलुकको समस्या समाधान गर्नुहोस्, दलित, आदिवासी, जनजाति, मधेशी जनताको सवाल संविधान संशोधनमार्फत् हल गर्नुहोस् भनेका छौँ”, उहाँले भन्नुभयो ।

नेता महतोले मधेश आन्दोलनकाबेला नेता तथा कार्यकर्तालाई लगाइएको झुठा मुद्दा फिर्ता र बन्दी रिहाइको माग गर्दै दुवै छिमेकी मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिनुभयो ।

संघीय समाजवादी फोरमसँग एकताको कुनै सम्भावना नरहेको बताउँदै उहाँले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग गुण र दोषका आधारमा सम्बन्ध स्थापित हुने स्पष्ट पार्नुभयो ।