१४ बैशाख २०८१, शुक्रबार
Follow Us

३० देशमा कांग्रेसद्वारा सरकारविरुद्ध प्रदर्शन

नेपालब्रिटेन संवाददाता
१५ श्रावण २०७५, मंगलवार ०५:३४

काठमाडौं । सरकारको कार्यशैली अधिनायकवाद उन्मुख र जनविरोधी रहेको भन्दै देशमा विरोध प्रदर्शन गरिरहेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले विदेशमा समेत विरोध प्रदर्शन गर्ने भएको छ । ३० वटा देशमा रहेका पार्टीनिकटको नेपाली जनसम्पर्क समितिमार्फत कांग्रेसले सरकारको विरोध गर्न लागेको हो । कांग्रेस केन्द्रको तयारीअनुसार आगामी १ देखि ३ अगस्टभित्र सरकारविरोधी कार्यक्रम हुनेछन् ।

जनसम्पर्क समिति कांग्रेससँग आस्था राख्ने विदेशमा बस्नेहरूको समिति हो । जनसम्पर्क समितिहरूलाई महाधिवेशनमा भाग लिने अधिकार पनि कांग्रेसले दिँदै आएको छ । कांग्रेसका नेताहरू विदेश जाँदा जनसम्पर्क समितिमार्फत नै कार्यक्रम हुँदै आएका छन् ।

‘देशदेखि विदेशसम्मबाट सरकारमाथि दबाब बढाउन कांग्रेसले एउटै मितिमा विरोध प्रदर्शनको तयारी गरेको छ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘यहाँ १५ साउन अर्थात् जुलाई ३१ मा विरोधको कार्यक्रम छ ।

विदेशमा सोही दिन वा अगस्ट १ देखि ३ तारिखसम्म सरकारविरोधी प्रदर्शन र विरोध कार्यक्रम गर्ने तयारी छ ।’ आफ्नो अनुकूलमा ती देशका नियम–कानुनभित्र बसेर विरोध प्रदर्शन गर्न १५ दिनअघि नै सबै जनसम्पर्क समितिलाई परिपत्र गरिएको जानकारी पौडेलले दिए ।

कुन–कुन देशमा छन् जनसम्पर्क समिति ?
अस्ट्रेलिया, बहराइन, बेल्जियम, क्यानडा, साइप्रस, डेनमार्क, फिनल्यान्ड, जर्मनी, हङकङ, भारत, आयरल्यान्ड, इजरायल, इटाली, जापान, कुवेत, मकाउ, मलेसिया, नेदरल्यान्ड्स, नर्वे, ओमान, पोल्यान्ड, पोर्चुगल, कतार, दक्षिण कोरिया, स्पेन, साउदी अरेबिया, स्विट्जरल्यान्ड, युएई, बेलायत र अमेरिकामा कांग्रेसका जनसम्पर्क समिति छन् ।