७ बैशाख २०८१, शुक्रबार
Follow Us

बिपीको जेल जीवनसम्बन्धी वृत्तचित्र जापानमा प्रदर्शन

नेपालब्रिटेन संवाददाता
१५ श्रावण २०७५, मंगलवार १०:०६

काठमाडौं । पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको जेल जीवनबारे जानकारी दिने ‘इतिहासको जेल’ नामक वृत्तचित्र जापानमा प्रदर्शन गरिएको छ ।

बिपीको ३७ औँ स्मृति दिवसको अवसर पारेर आइतबार र सोमबार बिपी चिन्तन एवं गणेशमान फाउण्डेशन जापान तथा बिपी संग्रहालय समिति काठमाडौँको संयुक्त आयोजनामा टोकियोमा सो वृत्तचित्र प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीमा कोइरालाको राजनीतिक इतिहास र जेल जीवनका बारेमा जानकारी समेत गराइयो । वृत्तचित्रमा बिपी, सर्वोच्च नेता गणेशमान सिंहले पञ्चायती शासनमा सुन्दरीजलको कारागारमा बिताएका जेल जीवनको अवस्थाबारे चित्रण गरिएको छ ।

कार्यक्रममा बिपी संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले सुन्दरीजल बन्दी गृहलाई संग्रहालय बनाउन गरिएको संघर्षका बारेमा स्मरण गराउनुभयो । बिपी चिन्तन तथा गणेशमान फाउण्डेशन जापानका अध्यक्ष डा बलराम श्रेष्ठले प्रजातान्त्रिक समाजवादी दर्शन र चिन्तन विश्वमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा बिपी चिन्तन तथा गणेशमान फाउण्डेसन जापानकी सचिव जापानी नागरिक इमुरा हिरोकोले प्रजातान्त्रिक नेता बिपीको जेल जीवनबारे वृत्तचित्र जापानमै हेर्न पाउँदा खुशी लागेको बताउनुभयो । कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका संस्थापक अध्यक्ष राजन प्रधान, बुद्धिजीवी, सामाजिक, राजनीतिक दल तथा संघ संस्थाका प्रतिनिधि सहभागी भई वृतचित्र रुचिपूर्वक हेर्नुभएको थियो ।