१५ चैत्र २०८०, बिहीबार
Follow Us

विराटनगरमा रहेको भारतीय फिल्ड अफिस आजदेखि बन्द

नेपालब्रिटेन संवाददाता
१६ श्रावण २०७५, बुधबार ०६:२१

विराटनगर । भारत सरकारले विराटनगरमा अवस्थित भारतीय फिल्ड अफिस आजदेखि बन्द गरेको छ । मिनी दूतावासको रूपमा रहँदै आएको भारतीय फिल्ड अफिस विराटनगरबाट काठमाडौंस्थित राजदूतावासमा स्थानान्तरण गरिएको हो । भारतीय दुतावासका अनुसार आजदेखि विराटनगरस्थित फिल्ड अफिसबाट कुनै पनि सेवा दिइने छैन ।

भारतीय दुतावासले एक प्रेस विज्ञप्ति जारी गरेर आज अर्थात अगस्ट १ देखि विराटनगरको क्याम्प अफिसले गर्दै आएका सबै काम काठमाडौंस्थित दूताबासबाटै हुने जनाएको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाँदा फिल्ड अफिस सार्ने सम्बन्धमा भारतीय पक्षसँग छलफल भएको थियो ।

सप्तकोशीको बाँध फुटेपछि त्यसैको बाहनामा ०६५ भदौ ४ गते भारतले फिल्ड अफिस खडा गरेको थियो । सो समयमा कोशी पुल प्रयोग गर्न नसक्ने भएपछि सुनसरीमा अस्थायी क्याम्प खडा गरिएको थियो । नेपाली गाडीले भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकाले रुट परमिटका लागि उक्त कार्यालय खोलिएको थियो । तर, त्यसलाई पछि विराटनगरमा सारियो र बलजफ्ती राखियो ।

कोशी पुल सुचारु भएको एक दशक बित्न लाग्दा पनि भारतीय कार्यालय बन्द हुन सकेको थिएन । परराष्ट्र मन्त्रालयले यसअघि सो क्याम्प हटाउन भारतीय दूतावासलाई पत्राचार गर्दासमेत भारतले टेरेको थिएन ।

नेपाल सरकारको अनुमतिविनै खोलिएको यो क्याम्पबाट रिटायर्ड लाहुरेहरूको पेन्सन दिने, नवीकरण गर्ने, सवारी परमिट दिने, भारत पढ्न जाने विद्यार्थीका लागि अनुमति दिनेदेखि धार्मिक पर्यटकको लागि परमिट दिनेसम्मको काम हुँदै आएको थियो ।