७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन होला ?

नेपालब्रिटेन संवाददाता
१६ श्रावण २०७५, बुधबार ०६:२५

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीबारे निर्णय गर्न आज संसदीय बिशेष सुनुवाई समितिको बैठक बस्दैछ । समितिमा सत्तापक्ष र विपक्षी सांसदहरुका कुरा बाझिएपछि आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो । जोशीको संसदीय सुनुवाई सम्पन्न भएको ६ दिन पुग्दा समेत निर्णय हुन सकेको छैन् ।

प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा २०६३ को अन्तरिम संविधान लागु भएदेखि सुरु भएको संसदीय सुनुवाइमध्ये यो नै हालसम्मको लामो सुनुवाइ प्रक्रिया भएको छ । यसअघि सुनुवाई समितिले सुनुवाई समाप्त भएकै दिन त्यसबारे निर्णय गर्ने गरेको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्न नसिकने अडान राखेका छन् भने प्रतिपक्षी कांग्रेसका सांसदहरुले अनुमोदन गर्नुपर्ने बताउदै आएका छन् ।

जोशीका शैक्षिक प्रमाणपत्र र उनले विगतमा गरेका केही फैसलाका बारे समितिमा उजुरी परेको थियो । सुनुवाइ सकिएपनि सुनुवाइका क्रममा प्रस्तावित प्रधानन्याधीश जोशीले दिएका जवाफ चित्तबुझ्दो नभएको समितिका सदस्यहरुको भनाई छ । जोशीविरुद्ध सार्वजनिक जग्गा, क्यासिनो र एनसेलको कर छुट लगायतका विषयमा गरिएका विगतका फैसला र दुईवटा विद्यालयबाट एसएलसी दिए पनि सिम्बोल नम्बर एउटै भएको जस्ता विषयमा उजुरीहरु छन् । अहिलेसम्म संवैधानिक परिषदले प्रधानन्याधीशमा सिफारिस गरेका व्यक्ति संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएका छैनन् ।