१३ बैशाख २०८१, बिहीबार
Follow Us

दिल्लीमा बन्धक बनाएका १६ युवतीको उद्धार

नेपालब्रिटेन संवाददाता
१६ श्रावण २०७५, बुधबार ०६:३४

काठमाडौं । भारतको दिल्लीस्थित मुर्निकाको एक घरबाट उद्धार गरिएका १६ नेपाली युवती काठमाडौं पुगेकै दिन हिजो बन्धक बनाएर राखिएका थप १६ को उद्धार गरिएको छ । नयाँदिल्लीको इग्नो रोड, साकेतमा राखिएका दुई भारतीयसहित १८ महिलालाई नेपाली दूतावास र स्थानीय प्रहरीले उद्धार गरेको हो ।

उद्धार गरिएका नेपाली महिलालाई कतार र कुवेत पठाउने भन्दै वैदेशिक रोजगारको गिरोहले एउटा साँघुरो कोठामा बन्धक बनाएर राखेको थियो। उनीहरूमध्ये केहीलाई भैरहवाबाट सिधै र केहीलाई बनारसको बाटो हुँदै दिल्ली पु-याइएको थियो । दुई साताअघि उत्तर प्रदेशको बनारसमा वैदेशिक रोजगारका लागि अवैध रूपले तेस्रो मुलुक पठाउने भन्दै डढ सय नेपाली महिलालाई बन्धक बनाएको उजुरी परेपछि नेपालबाट आएको प्रहरी, दिल्लीस्थित नेपाली दूतावासका प्रतिनिधि र बनारसको स्थानीय प्रहरीको संयुक्त टोलीले छापा मारेको थियो । छापा मार्नुअघि नै बन्धक बनाइएका महिलालाई भगाइएकाले उक्त टोली त्यत्तिकै फर्किएको थियो । उनीहरूलाई दिल्ली पु-याइएको हुन सक्ने बनारस प्रहरीको आशंका थियो ।

यही विषयमा छानबिन गरिरहेको बनारस प्रहरीकै सूचनाका आधारमा दूतावासका प्रतिनिधि र स्थानीय प्रहरीको संयुक्त टोलीले छापा मारेको हो। उद्धार गरिएका महिलामध्ये केहीले आफूहरूलाई केही दिनअघि मात्र बनारसबाट ल्याइएको बताएका छन् । बाँकीलाई सिधै भैरहवाबाट दिल्ली लगिएको खुलेको छ । उद्धार गरिएका सबैलाई मंगलबार दिल्ली महिला आयोगको आश्रयस्थलमा राखिने र कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काइने दूतावासले जनाएको छ ।