१२ बैशाख २०८१, बुधबार
Follow Us

युएईमा विदेशी नागरिकलाई आममाफी

नेपालब्रिटेन संवाददाता
१६ श्रावण २०७५, बुधबार ०६:३८

काठमाडौं । युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिककालागि आजबाट तीन महिनासम्मका लागि आम माफी दिएको छ । युएईमा रहेका नेपाली दूतावासले यो तीन महिनाको सक्दो उपयोग गर्न नेपाली कामदारहरुलाई आग्रह गरेको छ ।

युएईस्थित नेपाली दूतावासले गैरकानूनीरुपमा युएईमा रहेका नेपालीहरु लाई स्वदेश फर्कन वा वैधानिक बन्ने प्रक्रियामा जान विज्ञप्ति नै निकालेर सूचित गरेको छ । दूताबासले युएईभित्र रहेका अवैध नेपाली कामदारलाई आफ्नो सम्पर्कमा आउनसमेत भनेको छ ।

युएईले गैरकानूनी रुपमा रहेका नेपालसहितका विदेशी कामदारलाई अगस्ट १ (आज) देखि तीन महिनाको आममाफी दिनेबारे सम्बन्धित देशका दूतावासलाई औपचारिक जानकारी गराएको थियो ।

आममाफी लागू भएपछि अब विनाभिसा लुकीछिपी युएईमा रहेका जुनसुकै देशका नागरिकले जरिवाना र सजाय भोग्नु पर्ने छैन । आफ्नो देश फर्किन अथवा काम र भिसा दिने स्पोन्सर पाएमा वैधानिक रूपमा पुनः युएईमै काम गर्न पाउने भएका छन् । यो अवसरको फाइदा लिन युएईस्थित विभिन्न देशका कुटनैतिक नियोगहरुले सूचना जारी गरी आफ्ना देशका कामदारहरुलाई आग्रह गरेका छन् ।