१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आज विश्व स्तनपान दिवस

नेपालब्रिटेन संवाददाता
१६ श्रावण २०७५, बुधबार ०६:४१

काठमाडौं । संसारभर विभिन्न कार्यक्रम गरी आज स्तनपान दिवस मनाइँदै छ । नेपालमा पनि स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी यो दिवसलाई साताव्यापीरुपमा मनाइँदै छ । पछिल्ला वर्षहरुमा हाम्रो देशमा पनि हरेक आमालाई आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह मनाउने गरिएको छ ।

संसारभर एकदेखि सात अगष्टसम्म मनाइने विश्व स्तनपान दिवस को यस वर्षको नारा ‘स्तनपान : जीवनको आधार’ रहेको छ । गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन थालेको हुन्छ । पहिलो बिगौति दूध बच्चाका लागि अमृत समान हुन्छ जसले बच्चामा धेरै रोगहरूसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँदछ ।

आमाले जति धेरै पटक शिशुलाई दूध चुसाउँछिन् त्यति नै बढी अस्थायी गर्भ्निरोधको अवधि बढेर जान्छ । स्तनपानले शिशुका लागि स्वास्थ्य रक्षाको कामसमेत गर्दछ । नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुँदैन उनीहरुले आमाको दूधबाट यो शक्ति प्राप्त गर्दछन् ।

आमाको दूधमा रोगाणु नाशक तत्वहरु हुन्छन् । आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमामा फलाम तत्व दिन्छ । आमाको दूधबाट आएका साधारण जीवाणुहरुले शिशुको शरीरमा उब्जने विभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन् ।

बाहिरी वातावरणबाट आमाको शरीरमा पुगेका रोगका जीवाणु, शरीरमा रहेको विशेष भागको सम्पर्कमा आउँछन् र शरीरले ती विशेष रोगाणुको विरुद्ध प्रतिरोधात्मक तत्वहरु बनाउँछ । यो तत्व थोरासिक डक्ट भनिने एक विशेष नलीबाट सिधै आमाको स्तनसम्म पुग्छ र दूधबाट बच्चाहरूको पेटमा पुग्दछ । यसरी शिशुहरु आमाको दूध नियमित रुपमा खाएर स्वस्थ रहन्छन् ।