१५ चैत्र २०८०, बिहीबार
Follow Us

सामुदायिक वनमा संकटापन्न सालकको उपस्थिति राम्रो

sarusaru
१६ श्रावण २०७५, बुधबार ०९:०४

रत्ननगर – चितवन, मकवानपुर र गोरखाका विभिन्न सामुदायिक वनमा संकटापन्न अवस्थामा पुगेको सालकको उपस्थिति राम्रो पाइएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष रत्ननगर चितवनले तीन जिल्लाका १६ सामुदायिक वनमा गरेको अध्ययनमा सामुदायिक वनमा सालकको उपस्थिति राम्रो पाइएको कोषका संरक्षण अधिकृत तथा सूचना अधिकारी सन्तोष भट्टराईले जानकारी दिनुभयो । चितवनको पाँच, मकवानपुरको सात र गोरखाको चार सामुदायिक वनमा गरिएको अध्ययनमा सालकको उपस्थिति राम्रो पाइएको हो ।

हरियो वन कार्यक्रमको आर्थिक सहयोगमा ती सामुदायिक वनमा गएको फागुन ९ देखि वैशाख २० गतेसम्म अध्ययन गरिएको थियो । अहिलेसम्म सालकको अध्ययन न्यून भइरहेकाले अवस्था के छ भनेर पत्ता लगाउन यसरी अध्ययन गरिएको भट्टराईले बताउनुभयो ।

नेपालमा पाइने तामे र कालो सालकमध्ये क्यामेरामा भने कालो सालकमात्रै फेला परेको उहाँले बताउनुभयो । पूर्वी नेपालमा कालो र पश्चिम नेपालमा तामे सालक पाइन्छ । चितवन मकवानपुर र गोरखा आसपासमा दुवै थरीका सालक पाइने भए पनि यसपटकको सर्वेक्षणमा कालो मात्रै फेला परेको जनाइएको छ ।

क्यामेरा ट्रयापिङ विधिअन्तर्गत गरिएको अध्ययनमा ६ सामुदायिक वनका सालक क्म्यामेरामा कैद भएको छ । अन्य क्षेत्रमा सालकको गतिविधि प्रशस्त पाइएको छ । कतिपय स्थानमा तस्करले सालक बस्ने दुलो खनेर निकाल्ने गरेको पाइएकाले संरक्षणमा चुनौती रहेको बताइएको छ । यसका लागि जनचेतना फैलाउनु जरुरी रहेको अध्ययनको निष्कर्ष छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल सालक बढी तस्करी हुने प्रजाति भएकाले संरक्षण, अध्ययन र सचेतनामूलक कार्यक्रम सँगसँगै अगाडि बढाउनुपर्ने बताउनुहुन्छ ।

कतिपय स्थानमा स्याल र वन बिरालोले समेत आक्रमण गर्ने गर्छ । कुनै बेला एउटै दुलोमा दुम्सी र कुनै बेला सालकसमेत बस्ने गरेको अध्ययनमा पाइएको छ ।

“हामीले मुख्यगरी संख्या कति छन्, भन्दा पनि अवस्था अध्ययन गर्न खोजेका हौँ, अब नियमित अध्ययन गर्ने र सचेतना फैलाउने काममा लाग्छौँ,” भट्टराईले भन्नुभयो,”संरक्षण अधिकृत भट्टराई थप्नुहुन्छ ।

लजालु स्वभावको स्तनधारी सालकको मासु र खबटा अन्तर्राष्ट्रिय क्षेत्रमा अवैध व्यापार हुन्छ । यसको नेपालमा खासै अध्ययन भएको छैन । विश्वमा आठ र एसियामा चार प्रजातिका सालक पाइन्छ ।

एक वर्षमा यसले सात करोड किरा धमिरा खाने हुनाले पारिस्थितिक प्रणालीलाई सन्तुलन राख्न भूमिका खेल्छ । सालकको बासस्थान (दुलो) खनेरै तस्करी हुने गरेको पाइएपछि संरक्षणकर्मीले चिन्ता प्रकट गरेका छन् । मुख्यगरी सालकको खबटा गरगहना तथा सजावटका लागि तस्कर हुने गर्छ ।

केही समयअघि केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौँ र इलाका प्रहरी कार्यालय मुग्लिनको टोलीले पाल्पाका प्रेमबहादुर थापा र गोरखा आरुघाटका टेकबहादुर गुरुङलाई जिउँसो सालकसहित पक्राउ गरेकाले पनि तस्करी पुष्टि भएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकाल बताउनुहुन्छ ।
रासस